×

वीरगंज २६ भाद्रौं । नेवि संघ पर्साको जिल्ल अधिवेसनको उद्घाटन सत्र सम्पन्न भएपनि आपसी मतभेदका कारण नेतृत्व चयनको विषयलाई लिएरर संगठन भित्र व्यापक विवाद देखिएको छ ।

पटक-पटकको प्रयास पश्चात झन्डै १० वर्ष पछि गत शनिबार नेपाली विद्यार्थी संघ पर्साको अधिवेशनको उदघाटन सत्र सम्पन्न भएपनि नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति अजय द्विवेदीको हट कारण नेतृत्व चयन हुन नसकेको नेवि संघका विद्यार्थी नेताहरुले आरोप् लगाएका छन् ।

अध्यक्ष पदका लागि जीवन सापकोटा, विस्वास रञ्जन द्विवेदी र राम निवास यादवले उम्मेद्वारी दिएपनि पार्टीका जिल्ला सभापति अजय द्विवेदी र सचिव श्याम पटेलले एकलौटी किसिमबाट आफ्नो निकटका व्यक्तिलाई जिल्ला अध्यक्षमा मनोनित गर्न खोजे पछि अधिवेशन अगाडि बढ्न नसकेको विद्यार्थी नेताहरुले आरोप लगाएका हुन ।

आफ्नो निकट र नातेदार पर्ने विस्वास रञ्जन द्विवेदीलाई सर्वसहमतबाट नेवि संघको अध्यक्षमा चयन गर्ने सभापति द्विवेदीको अडानका कारण अधिवेशन अगाडि बढ्न नसकेको नेवि संघका एक विद्यार्थी नेताले बताए । उनका अनुसार जिल्लाका अन्य नेताहरु नेवि संघको कार्यसमिति चयन निर्वाचन प्रणालीबाट गर्ने पक्षमा रहे पनि पार्टीका अध्यक्ष र सचिवको हटकै कारण जिल्लामा अझै नेवि संघलाइ नेतृत्व छान्न समस्या भएको हो ।

संघको १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र गत २३ गते सम्पन्न भएको थियो । उद्घाटन सत्र सम्पन्न भए पनि केन्द्र र अन्य जिल्लाका नेताहरुले बन्द सत्र मार्फत नेतृत्व छान्ने प्रयास गर्दा आपसी मतभेदका कारण प्रयास विफल हुँदै आएको छ । तिन उम्मेदवार मध्ये पार्टीका सभापति द्विवेदीले आफ्नो नातेदार पर्ने विस्वास रञ्जन द्विवेदीलाई अप्रजातान्त्रिक तरिकाबाट अध्यक्षमा उचाल्न खोजे पछि अधिवेशन भाडिएको हो ।

ढिलो भईरहेको नेतृत्व चयनको विवादलाई सल्टाउन पार्टीले पर्सा क्षेत्र नं. १ का सभापति विजय सर्राफको नेतृत्वमा एउटा निर्वाचन समन्वय समिति समेत गठन गरेको छ । पार्टी सचिव श्याम पटेल, कोषाध्यक्ष इम्तियाज आलम, नेवि संघ पर्साका पुर्व अध्यक्ष बैकुण्ठ श्रीवास्तव, केन्द्रिय सदस्य सुधिर पटेल र बद्रि नारायण तिवारी रहेको उक्त छ सदसिय समिति पनि पार्टी सभापतिले आफ्नो निकटका व्यक्तिलाई राखेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

यस सन्दर्भमा नेवि संघका केन्द्रिय सदस्य बद्रि नारायण तिवारी संग प्रश्न राख्दा उनले यस्तो कुनै विवाद नरहेको प्रस्ट पारे । 'नेतृत्व चयनको विषय लगभग टुंगो लागिसकेको अवस्था छ, आजभोलिमा निर्णय आउछ । अलि ढिलो भएपनि कुनै विवाद छैन,' उनले भने, 'निर्वाचन भन्दा पनि सबैलाई समेटेर सर्वसहमतबाट अध्यक्ष छान्ने पक्षमा हामि छौं । संगठन भित्र लगानी, दृढता, पुरै क्षेत्रलाई समेटेर अगाडि बढ्न सक्ने क्षमता भएको व्यक्तिलाईनै हामीले नेतृत्व तहमा पुर्‍याउने छौं, यस्मा आफ्नो व्यक्तिलाई प्राथमिकता दिने जस्तो कुरै छैन ।'

यता नेवि संघका जिल्ल संयोजक दिलिप कार्कीले पार्टी भित्रको आन्तरिक समस्याका कारण हाल केहि समयका लागि अधिवेशन स्थगित गरिएको बताए । 'प्रजातान्त्रिक विचारधारको पार्टी भएकोले थोरै मतभेद देखिएको हो, यो जहाँ पनि हुन्छ, हामि आफै पनि पूर्ण रुपले सहमति गराएर दिर्गकालिन रुपमा नेतृत्व चयन गर्न खोजेको छौँ, कार्कीले भने, 'छिटै यसको समाधान भेट्छ र जिल्लमा रहेको मतभेद पनि अन्त्य गर्न हाम्रो प्रयास रहेकोले केहि ढिलासुस्ती भएको हो ।'

Back to top