×

वीरगन्ज २६ भदौ । गुणस्तरहीन सिमेन्ट बेचेको ठहर भएपछि इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) निलम्बनमा परेको छ ।

इन्टरनेसन सिमेन्टको नाममा दर्ता रहेको संचालक विमल अग्रवालको रहेको उद्योगले उत्पादन गर्ने ओम ब्रान्डको ओपिसी सिमेन्टमा पीपीसी सिमेन्ट हालेर बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए । इन्टरनेसनल सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा ओपिसी सिमेन्टमा पीपीसी हालेर बिक्री गरेको भेटिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताउनुभयो ।

वीरगन्जमा मुख्य कार्यालय तथा जगन्नाथपुरमा उत्पादन उद्योग रहेको उक्त कम्पनीले ओपीसी र पीपीसी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ६ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको उक्त उद्योगले ज्योति, आयुष्मान र रुद्राक्ष ब्रान्डका सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । उद्योगले ४३ र ५३ दुवै ग्रेडका ओपीसी सिमेन्ट उत्पादन गरेर बजारमा पठाउँदै आएको छ ।

सिमेन्ट उद्योगबाट उत्पादन गरेको सिमेन्टको गुणस्तरमा त्रुटि भेटिएपछि त्यसको गुणस्तर चिह्न निलम्बनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृका प्रसाद यादवले निर्देशन दिएका हुन ।

त्रुटि भेटिएपछि मन्त्री यादवले गुणस्तर चिह्न निलम्बन गर्न निर्देशन दिएपछि उद्योगले पार्टीकै नेताहरुमार्फत पनि कारबाही नगर्न लबिङ गरेर रकमको समेत प्रलोभन दिएको स्रोतको भनाइ छ । तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले ठाडै अस्वीकार गरेर कारबाहीका लागि निर्देशन दिएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । गुणस्तरमा त्रुटि भेटिएपछि किन कारबाही नगर्ने ? भन्ने आशयसहितको स्पष्टीकरण पठाएकोमा चित्तबुझ्दो जवाफ नदिएपछि ओम सिमेन्टको गुणस्तर चिह्न खारेज हुने भएको छ ।

उद्योगले दिएको जवाफमा चित्त नबुझेपछि गुणस्तर चिह्न खारेज गर्ने निर्णयमा मन्त्रालय पुगेको छ । गुणस्तर चिह्न खारेज भएपछि इन्टरनेसनल सिमेन्टद्वारा उत्पादित ओपिसी सिमेन्ट बजारमा बिक्री, वितरण गर्न नपाउने भएको छ ।

गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा विभागको कारवाहीमा परेको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्ट उद्योगका एकपछि आर्को करतुतहरु खुल्दै जान थालेका छन् । विभागले उक्त उद्योगलाई उत्पादन र बिक्रीबितरणमा रोक लगाए पनि सरकारी निर्देशनलाई धोती लगाउँदै गुणस्तरहीन सिमेन्टको उत्पादन र बिक्रीबितरण गरिरहेको पाइएको छ ।

यो उद्योगले उत्पादन गरेको ओम ब्रान्डको ओपिसी सिमेन्ट र पीपीसी समेन्टको गुणस्तर विभागले दिएको मापदण्डअनुसार नभएपछि रोक लगाइएको थियो । विभागले उक्त उद्योगलाई दिएको गुणस्तरको प्रमाण स्थगन गरी उत्पादन र बिक्री रोक्न निर्देशन दिएकोमा उद्योगले अहिलेसम्म उक्त निर्देशनलाई टेरपुच्छर लगाएको छ्रैन । यसबारेमा उद्योगका सन्चालक विमल अग्रवालसँग यात्रा डेलीले जिज्ञाशा राखन खोजदा फोन उठाएन्न ।

आफूलाई वीरगञ्जको एक नम्बरको औद्योगिक ग्रुप भन्न रुचाउने इन्टरनेसनल सिमेन्ट प्रालिका ‘ओम’ ब्रान्डका संचालक विमल अग्रवालले कमसल सिमेन्ट बजारमा पठाएर आमउपभोक्ता र विकास निर्माणमा गरेको बदमासीको भण्डाफोर भएपछि अहिले ग्रुपका संचालक विमल अग्रवाल जसरी पनि सेटिङ मिलाउन दौडधुप गरिरहेको स्रोतले बताएको छ । गुणस्तरहीन सिमेन्ट बेचेर उपभोक्ता ठग्दै आएका उद्योगका सन्चालक विमल अग्रवालले त्यसबाट आएको अनधिकृत आम्दानीबाट बिक्रेता खुशी पार्न भने अनेक उपाय अपनाएको पाइएको छ ।

कम गुणस्तरको सिमेन्ट बनाएर उपभोक्ताको जीवनको सुरक्षा र विकास निर्माणको गुणस्तरमाथि खेलवाड गरेका विमल अग्रवालले आफ्नो कमसल उत्पादनको बिक्री बढाउने शर्तमा बिक्रेता र केही कर्मचारीलाई अनेक प्रलोभन लिने गरेका छन ।

Back to top