×

निर्वाचनताका सञ्चारकर्मीहरुसँग कुरा गर्दा पचास बर्षमा पूरा गर्न नसकिएको काम पाँच बर्षमा पूरा गरेर देखाउछु भनेर प्रतिबद्धता गरेका मेयर सरावगीको एकबर्ष पुग्दा नपुग्दै जनताले मात्रै होईन आफ्नै नेता कार्यकर्ताहरुले पनि उनको काम र प्रतिबद्धताको खोजी गर्न थालेका हुन् । संघीय समाजवादी फोरम नेपालका जिल्ला कोषाध्यक्ष बालेश्वर गौरोले पनि महानगरका मेयर सरावगीको प्रतिवद्धतापत्रलाई फेसबुकमै पोष्ट गरेर उनले गरेको कामको खोजी गरेका छन् । व्यावसायीक क्षेत्रबाट आएका सरावगीले आर्थिक प्रलोभन नदेखाउने र काम गर्ने आशा र अपेक्षाका साथ मतदान गरेका महानगरवासी अहिले सरावगीले चित्तबुझ्दो काम नगरेको बताउने गरेका छन् । कांग्रेसका घगडान नेता अजेय द्धिवेदीलाई दुई हजार एक सय ९६ मतले हराउँदै सरावगी प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए निर्वाचित भएपछि मेयर सरावगीले नगरका सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममै अध्यापन गराउने, महानगरको कामकाजको भाषा भोजपुरी हुने, गरिब विद्यार्थी शिक्षामा पछाडि नपरुन भन्ने उद्देश्यले सरकारी स्कुलमा पनि अंग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाउने, नगरको सरकारी विद्यालयमा पनि बोर्डिङझै सुविधा उपलब्ध हुने लगायतका घोषणा गरेका थिए । उनले तीन महिनामा सहरवासीको आधारभूत आवश्यकता पुरा गर्ने वाचा गरेका थिए । महानगरपालिकाबाट आफूले कुनै सुविधा नलिने बताउदै महानगरको तलब भत्ता एकल महिलाको सन्तानको शिक्षामा खर्च गर्ने बताएका थिए । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी ट्रेडिङ व्यापार र वित्तीय संस्थाका सञ्चालक रहेका सरावगी मधेसको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका थिए । उनी निर्वाचित भएपछि वीरगन्ज महानगरको स्वरुप परिवर्तन हुने आशा र अपेक्षा गरेका नगरवासीहरु एकबर्ष भईसक्दा समेत परिवर्तनका अनुभूति नभएको बताउन थालेका छन् । सरावगीले निर्वाचन ताका गरेका वाचाहरु पूरा गर्न नसक्दा आफ्नै नेता कार्यकर्ताहरुभित्र पनि असन्तुष्टि देखिन थालेको छ ।

Back to top