×

वीरगन्ज २२ भदौ - पर्साको पकाहामैनपुर गाउँपालिकाका प्रमुखले करोडौं भ्रष्टाचार गरेको भन्दै उपप्रमुख र वडाध्यक्षले आन्दोलनको चेतावनी दिएका छन्। गाउँपालिका प्रमुख विजय चौरसीयाले आर्थिक वर्ष २०७४/०७५ को बजेट हिनामिना र भ्रष्टाचार गरेको उनीहरुको आरोप छ।

वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर उपप्रमुख कुश्मी देवी, वडा नम्बर ४ का वडा अध्यक्ष डेढी यादव, कार्यपालिका सदस्य जाल महम्मद मियालगायतका जनप्रतिनिधिले प्रमुख चौरसीया र प्रमुख प्रशाकीय अधिकृत हिरालाल भुषालले आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन्।

‘म उपप्रमुख हुँ, मेरा पनि प्रमुखको बराबरको अधिकार छ’, पत्रकार सम्मेलनमा उपप्रमुख कुश्मीले भनिन्, ‘कुनै पनि गलत कुराको विरोध गर्दा विजयजीले मेरो कुरा सुन्नु हुन्न, हरेक निर्णयमा सिधै माइन्युट ल्याएर सहि गर्ने भए गर नत्र बहुमतको आधारमा पास हुन्छ भन्दै धम्क्याउनु हुन्छ।’

चालु आर्थिक वर्ष २०७५/०७६ का लागि गत बुधबार भएको गाउँपरिषद्मा आफू सहभागी भएपनि परिषद्को निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको उपप्रमुख कुश्मीको भनाइ छ। गाउँपालिका उपप्रमुखसहितका जनप्रतिनिधिले आगामी दिनमा पनि प्रमुखले आफ्ना कुरा नसुने सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आर्थिक वर्ष २०७३/७४ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यालय व्यवस्थापनका लागि पठाएको एक करोड नौ लाख बजेट मध्ये गाउँपालिका प्रमुख चौरसीयाले हरेक वडा कार्यालयका लागि एक–एक थान कम्प्युटर र केही फर्निचर खरिदमा ४९ लाख मात्र खर्च गरी बाँकी ५१ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीहरुको छ।

गाउँपालिका प्रमुख चौरसीयाले भने दुवै आर्थिक वर्षको गाउँपरिषद् प्रकृया पुरयाएर सम्पन्न भएको दाबी गरेका छन्। गाउँपालिकाको बजेट खर्चमा अनियमितता भएको भन्ने आरोप निराधार भएको उनको भनाइ छ।

‘बजेटबाट गरिएको हरेक खर्च स्पष्ट छ, यदि कसैले खर्चको विवरण माग्छ भने दिन तयार छु’, उनले भने। गाउँपालिका उपप्रमुख कुश्मी इमान्दार भएको तर उनलाई केही व्याक्तिले उक्साएर आफनो स्वार्थ पूरा गर्न पत्रकार सम्मेलन गराएको आरोप प्रमुखको छ।

Back to top