भारतीय रेलवेको बदमासीले नेपाली आयातमा तीन गुणा जरीवाना

353

Share
  •  
  •  
  •  

वीरगञ्ज २४  साउन । भारतीय रेलवेले रक्सौलमा आउने मालवाहक ¥याकको अनलोडमा तीन गुणासम्म जरीवाना बढाएको छ । भारतीय रेलको यो निर्णयले मुख्य नाका वीरगञ्जबाट हुने आयातमा जरीवानाको भार बढ्ने भएको छ । रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल माल अधीक्षकलाई पत्र लेखेर १५ दिनसम्मका लागि जरीवाना बढाउन भनेको छ । रेलवेले जरीवाना वृद्धिको सूचना आयातकर्तालाई दिइसकेको छ । रेलवेको रक्सौल यार्डमा आउने मालसामानको अनलोडमा शुक्रवार राति ८ बजेदेखि वृद्धि भएको जरीवानाको दर लागू हुनेछ । भारतीय रेलले रक्सौल यार्डमा मालसामानको चाप बढ्न थालेपछि जरीवाना बढाउने गरेको छ । विगतमा रेलवेले यस्तो जरीवाना ६ गुणासम्म बढाएको थियो । यसले नेपालका लागि आउने औद्योगिक कच्चा पदार्थ र उपभोग्य बस्तुको ढुवानी खर्चिलो हुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले बताउँछन् । रेलवेले ¥याक अनलोडमा लागि ९ घण्टा समय दिन्छ । समयसीमाभित्र अनलोड नभए एउटा बेगनमा प्रतिघण्टा १ सय ५० भारतीय रुपया (भारु)का दरले जरीवाना तिर्नु पर्छ । अब यो दर ४ सय ५० भारुसम्म पुगेको छ । तोकिएको समयभन्दा २ घण्टासम्मका लागि सामान्य दरमा जरीवाना लिइने रेलवेको पत्रमा उल्लेख छ । त्यसपपछिको ४ घण्टासम्म दुगुणा र ४ घण्टाभन्दा बढीमा ३ गुणा जरीवाना असुल्न भनिएको छ । विगतमा ¥याकको अनलोड र गोदाममा समेत चर्को जरीवाना लगाउने गरिएको थियो । सङ्घका सचिव माधव राजपालले रेलको जीर्ण र अपर्याप्त पूर्वाधारका कारण आयातकर्ताले जरीवाना तिर्नु परेको गुनासो गरे । रक्सौल यार्डमा मालसामान आउने ७, ८ र ९ नम्बर लिकमध्ये २ ओटा वर्खाका कारण बिग्रिएकाले जाम बढेको उनले बताए । कोइला, स्ल्याग, फलामजस्ता औद्योगिक कच्चा पदार्थ यो नाकाबाट भित्रिने गरेको छ । रेलवे यार्डको अस्तव्यस्त अवस्थाका कारण केही आयातकर्ताले कच्चा पदार्थ लोड रोकेको राजपालले बताए । रेलवेको पूर्वाधारजन्य कमजोरीको भार नेपालका आयातकर्ताले उठाउनु अन्याय भएको सचिव राजपालको भनाइ छ । ‘रेलवेले सामान्य दरको जरीवानासमेत छुट दिनुपर्नेमा उल्टै ३ गुणा बढाउनु उचित होइन,’ उनले आर्थिक अभियानसित भने । अहिले रक्सौल यार्डमा बर्खाको पानीले जमेर ५९ बेगनको ¥याक एकैपटक अनलोड गर्न नसकिने आयातकर्ताको भनाइ छ । एक पटकमा ३० वेगनभन्दा बढी अनलोड हुन नसक्दा दोब्बर समय लागिरहेको केडियाको भनाइ छ । भारतकै नरकटियागञ्जमा रेलवे लिक मर्मत भइरहेकाले रक्सौल यार्डमा आवागमन अव्यवस्थित बनेको आयातकर्ता बताउँछन् । भारतीय रेलवेको व्यवस्थापकीय कमजोरीको भार पटकपटक नेपालको आयातमा परिरहेको उनीहरूको गुनासो छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here