नेकपाकाे मधेसमा मार्क्सवादको प्रचार अभियान शुरु

179

वीरगञ्ज २२ साउन – नेकपाले मधेसमा मार्क्सवादको प्रचार अभियान शुरु छ । कार्लमार्क्स जन्म द्वीशतवार्षिकीको अवसर पारेर मधेसमा मार्क्सवादको बारेमा गहन छलफल गर्न लागेको हो ।

नेकपाका कार्यकर्ता मात्रै नभएर नयाँ पुस्तालाई मार्क्सवादका बारेमा जानकारी गराउन कार्यक्रम महत्त्वपूर्ण हुने दावी नेकपाको छ । त्यसका लागि नेकपाले भदौ १ र २ गते वीरगञ्जमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेकपाका शीर्ष नेताहरु, वाम घटकका नेता, वाम वुद्धिजीवी तथा चिन्तकहरुले मधेसमा मार्क्सवादसम्बन्धी गहन विचार, दृष्टिकोण तथा सोचहरु राख्ने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।


प्रदेश नम्बर २ का ८ वटै जिल्लाका १ हजार नेता कार्यकर्ता तथा अगुवाहरु सहभागी हुने कार्यक्रममा मार्क्सवादलाई विभिन्न कोण तथा दृष्टिकोणबाट बहसमा ल्याइने जानकारी कार्लमार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति, प्रदेश २ ले जनाएको छ ।

कार्यक्रमका लागि नेकपाका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अन्य ६ वटा उपसमितिहरु गठन गरिएका छन् । पत्रकार सम्मेलनमा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मधेसमा मार्क्सवादको अझै बढी आवश्यकता रहेको बताए ।

‘समाजवादका लागि सबैभन्दा भरपर्दो वैज्ञानिक विचार मार्क्सवाद हो भनेर विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । त्यसैले मुलुकमा मार्क्सवाद आवश्यक छ, मधेसमा अझै बढी आवश्यक छ,’ नेता भुसालले भने, ‘मधेसमा विद्यमान रोग, भोक, शोक, अज्ञानता, पछौटेपन, साम्प्रदायिक राजनीतिबाट माथि उठाउन मार्क्सवाद नै उत्तम विकल्प हो ।


SHARE