×

वीरगन्ज २० साउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बाराको कलैयामा पुगेर हिन्दी भाषामा भाषण गरेका छन् । सम्बोधनको सुरुमा नेपालीमा बोलेका उनले बीचमा पुगेपछि हिन्दीमा सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा दाहालले आफूले भोजपुरी भाषा बुझ्ने भए पनि उच्चारण गर्न नसक्ने भएकाले हिन्दीमा बोल्ने बताएका थिए । 'अगर आप को हिन्दी समझ्ने मेँ केही दिक्कन नहिँ हो तो मै हिन्दी मे बोल्ने को तयार हुँ', दाहालले यति भनेपछि हिन्दीमा भाषण सुरु गरे ।

कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सहभागी भएका स्थानीयबासीलाई हिन्दीमा सम्बोधन गर्दै प्रचण्डले नागरिकता समस्या, संविधान संशोधनदेखि तराई–मधेसको विकासबारे आफ्नो पार्टी र सरकारको धारणा राखे ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोल्दै दाहालले मधेसमा सक्रिय राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई आफ्नै पहलमा संविधान मान्ने अवस्थामा ल्याइपुर्‍याएको दाबी गरे ।

‘राजपा र फोरमलाई पनि संविधान मान्ने अवस्थामा आफैँले ल्याएको हो । मधेसी आदिवासी जनजाति सबैले लडाइँ नगरेको भए गणतन्त्र आउँदैनथियो’, उनले भने, ‘यो संविधानलाई हामीले कहिल्यै पूर्ण मानेका छैनौँ, यसलाई गतिशिल दस्तावेज मानेका छौँ । मधेसी जनताको उचित भावनालाई सम्बोधन गर्न प्रतिवद्ध छौँ ।’

Back to top