×

बारा - प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीयता समाप्त गर्ने चलखेल भइरहेको बताउनुभएको छ ।

राजपाले मंगलबार बाराको कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा राजपका महामन्त्री समेत रहेका मन्त्री सोनलले केपी ओली नेतृत्वको संघीय सरकार र कर्मचारीतन्त्र संघीयता समाप्त गर्ने चलखेलमा लागेको बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारलाइ असहयोग गरेर देशमा अस्थिरता कायम गरी संघीयतालाइ विफल पार्ने योजना बनाएर संघीय सरकारले कर्मचारी परिचालन गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेशका लागि आवश्यक ऐन कानून निर्माण नगर्ने र आवश्यक मात्रामा कर्मचारी नखटाउने कार्य गरेर सरकारले संघीयतालाइ असफल पार्ने कोशिश गर्दैछ ।’

फरक प्रसंगमा मन्त्री सोनलले नेपाल भारतबीचको खुल्ला सीमाना प्रदेश नम्बर २ का लागि वरदान भएको बताउनुभयो ।

तर संघीय सरकारले राष्ट्रिय परिचय पत्रको नाममा सीमामा कुनै किसिमको अवरोध गर्न खोजे प्रदेश सरकारले भने त्यसको प्रतिरोध गर्ने चेतावनी उहाँले दिनुभयो ।

मन्त्री सोनलले संघीय सरकारसँगको वारपारको लडाईंको तयारीमा आफुहरु लागेको बताउनुभयो ।

सेवा केन्द्र विस्तारको नाममा कलैयाबाट सरकारी कार्यालयहरु सीमरामा सार्ने संघीय सरकारको निर्णय आफुहरुलाइ मान्य नहुने उहाले बताउनुभयो ।

उहाँले मधेस प्रहरीको स्थापना गरिने बताउनुभयो ।

संघीय सरकारले प्रदेश सरकारसंग द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न संघीय सरकारसँग आग्रह पनि गर्नुभयो ।

वीरगन्ज र सप्तरीमा स्थापना गरिएको उच्च अदालतको अस्थायी इजलासलाइ स्थायी प्रकृतिको इजलास बनाउनुपर्ने माग पनि मन्त्री सोनलले गर्नुभयो ।

सप्तरीको मलेठ घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले दिएको प्रतिवेदन आफूहरुलाइ मान्य नभएकाले मलेठ घटनाको सहि छानबिन गर्न प्रदेश सरकारले छानबिन समिति गठन गरेको उहाले बताउनुभयो ।

उहाँले नागरिकता वितरणको सवालमा संघीय सरकारले अनावश्यक हस्तक्षेप गरेर मधेसी जनतालाइ नागरिकता विहिन बनाएको आरोप पनि लगाउनुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, सांसद एकबाल मियाँ लगायतको उपस्थिति रहेको थियो ।

Back to top