×

वीरगञ्ज ३२ असार एकै परिवारका दुईजना बालकको हत्या भएपछि पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । बहुदरमाई नगरपालिका वडा नं २ बैरियाविर्ता टोलमा बस्ने सञ्जय साहको परिवारमा ८ महिनामा दुई बालकको हत्या भएको दावी उनीहरुले गरेका छन् ।

गत मंसिर १७ गते स्थानीय सञ्जय साहको ११ वर्षीय छोरा सुमित साहको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फालिएको अवस्थामा भेटिएको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन । सञ्जयकै कान्छो भाइ शिवजी साहको ६ वर्षीय छोरा आयुब साह असार ३१ गते पोखरीमा मृत भेटिएका थिए । आयुबको पनि हत्या भएको दावी स्थानीय बासिन्दाले गरेका छन् । ठूलो संख्यामा आएका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रहरी प्रशासनको विरुद्धमा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा एउटै परिवारलाई लक्षित गरेर बारम्बार बालकहरुको हत्या जस्तो जघन्य अपराध भइरहँदा समेत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्सा मुक दर्शक बनेको आरोप लगाइएको छ ।‘शान्ति सुरक्षा कायम गराउने जिम्मा राज्यको हो, तर राज्य संयन्त्रको विफलता र मौनताका कारण एउटै परिवारलाई लक्षित गरि घटना दोहोरिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अपराधीलाई न्यायिक दायरामा ल्याउन नसकेकोमा घोर आपत्ति छ । प्रहरीले आफ्नो काम कर्तव्य जिम्मेवारिपूर्वक नगरिरहेको प्रति घार भत्र्सना गर्दछौं ।’प्रदेश सभासद राजेश्वर साह तेलीले प्रहरी प्रशसानको लापरबाहीले गर्दा घटना घटेको आरोप लगाए ।उनले प्रहरीले पहिलो घटनामा गम्भीर अनुसन्धान नगरेका कारण अपराधीको मनोबल बढाएको बताउँदै तत्काल न्याय नदिए आन्दोलन गर्ने चेतावनी दिए ।पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटनालाई गहिरो ढंगले अध्ययन अनुसन्धान गरेर सत्यतथ्य जनमानसमा ल्याउने प्रतिबद्धता जनाएका छन् । ‘सय वटा अपराधी उम्कियोस तर एउटा निदोर्ष नफसुन भन्ने सिद्धान्तको आधारमा कुनै सर्वसधारण आतंकित नहुने गरि अनुसन्धान हुने छ । अपराध अनुसन्धानका लागि अपनाउनुपर्ने जुनसुकै उपाय अपनाएर अपराधीलाई कानुनी दायरामा ल्याउँछौं,’ उनले भने, ‘सबैको सहयोग आवश्यक पर्छ, त्यसमा कञ्जुस्याई नगर्नुहोला ।’

Back to top