×

वीरगन्ज २९ असार डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै वीरगन्जमा शुक्रबार प्रदर्शन गरिएको छ । डा. गोविन्द केसीको जायज माँग पुरा गर,डा. गोविन्द केसीको जिवन रक्षा गरौ जस्ता अंकित बार्नर लिएर नेपाल चिकित्सक संघ पर्साले वीरगन्जको घण्टाघर नजिक प्रर्दशन गरेको हो ।

१४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल तल–माथि भइरहेको छ, बोल्न सक्ने अवस्थामा छैनन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार केसी हातखुट्टासमेत चलाउन नसक्ने अवस्थामा पुगेका छन ।

‘उहाँ बेडबाट उठ्न सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने, ‘संक्रमणबाट बचाउन हामीलाई चुनौती भइरहेको छ । मुटुको चाल तल–माथि भइरहेकाले कतिखेर के हुने हो, थाहा छैन ।’ जतिखेर पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । उनका अनुसार केसीको रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । मांसपेसी सुन्निने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्नेलगायत समस्याले उनी ग्रस्त छन ।

यता चिकित्सक टोलीले बिहीबार साँझ सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनअनुसार डा. केसीको छातीको बीच भागमा दुखाइ बढेको छ भने रगतमा सेतो रक्तकोशिकाको मात्रा घट्दै गएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि केसीले आवश्यक औषधि लिन नमानेको प्रतिवेदनमा जनाइएको छ ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघ पर्सा अगुआईमा वीरगन्जका अधिकारवादी संघसंस्था र स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग जीवन रक्षाको माग गर्दै प्रर्दशन गरेका छन ।

Back to top