सुर्तीले फुर्ती – तुलसी भण्डारी

304

पर्सा ठोरी–४ विजयवस्ती, कुपलाइनका श्यामबहादुर श्रेष्ठ सम्झन्छन्, ‘पहिलेजस्तो अहिले न त बर्दीधारीले नै झुक्याएर आएर बाली नष्ट गरिदिएका छन्, न जंगली जनावरले नै हैरान पार्छन् ।’ गाउँमा ३ प्रतिशतले मात्र सुर्ती खेती गर्दैनन् । आठ–दस वर्षअघि भने नगदेबालीका रूपमा यस क्षेत्रका अधिकांश किसान गाँजा खेती गर्ने गरिरहेका छन् ।

एक छोरा र तीन छोरीका बाबु श्रेष्ठ सुर्ती खेती गर्ने पर्साका ५ हजार ८ सय ६१ किसानमध्ये सबैभन्दा अब्बल हुन् । उनले यो आर्थिक वर्षमा मात्र १० लाख आम्दानी गरे । बारा सिमरास्थित चुरोट उत्पादक कम्पनी सूर्य नेपालले उनीद्वारा उत्पादित सुर्ती र बिरुवा खरिद गर्दा १० लाख ४९ हजार ५ सय ९९ रुपैयाँ भुक्तानी गरिसकेको सूर्य नेपालका लिफ म्यानेजर माधव खनाल बताउँछन् । ‘यो भुक्तानी पर्साका सुर्ती किसान श्रेष्ठले असोज, कात्तिक र माघमा गरी दुई सिजनमा लगाएको खेतीबाट उठाइसकेका हुन्,’ उनले भुक्तानी विवरण देखाउँदै भने ।

सुर्ती खेती गर्दा उत्कृष्ट किसान भएको भन्दै सूर्य नेपालले श्रेष्ठलाई भारत आन्द्रप्रदेशमा थप ज्ञान हासिल गर्न पठायो । अरू खेती गर्दा छिमेकी मुलुक या विदेशतिर बालीनाली हेर्न जाने किसानलाई मौका त के ? आफ्नै सामान बिक्री गर्दा भुक्तानीसमेत पाइन्न । ‘त्यहाँ गएर उताको सुर्ती खेती हेरेपछि थप ज्ञान भयो,’ उनले भने । सुर्ती टिप्दा सबै एकैपटक नटिपी छिमल–छिमल गरी टिप्नुपर्ने उनले सिके । यो आर्थिक वर्षमा २ बिघा जमिनमा सुती खेती गरी आम्दानी गरेका श्रेष्ठको आगामी वर्ष अझ जमिनको क्षेत्रफल बढाउने सोच छ । त्योभन्दा एकदुई वर्षअघि तरकारी खेती गरेको तर बजार नपाएर तरकारी खेती छोड्न परेको उनको भनाइ छ ।

किसान श्रेष्ठलाई सुर्ती खेती गर्न सिकाउने स्थानीय नापु लामाले पनि यो खेती अझै छोडेका छैनन् । लामाले २२÷२२ वर्षदेखि सुर्ती खेती गर्दै आएको बताए । जंगलछेउका किसानका लागि योभन्दा अर्को राम्रो नगदेबाली नभएको उनको तर्क छ । १५ कट्ठामा वर्षमा ७५ हजार कमाइ हुन्छ । एकमुष्ठ भुक्तानी पाइन्छ । त्यसैले सबै खर्च चलेको छ, उनको ।
पछिल्लो समय राज्यले गाँजा खेतीप्रति कडाइ गरेपछि पर्साका किसानका लागि गाँजा खेतीको विकल्पका रूपमा सुर्ती खेती दरिएको छ । गाउँमा प्राविधिकसमेत खटाइएको छ । भुक्तानीका लागि पनि लामो समय कुर्नुपर्दैन । सूर्य नेपालले खातामा पैसा हालिदिन्छ । सूर्य नेपाल कम्पनी पर्साको विजयबस्तीलगायत सुर्ती कृषकको समृद्धिका लागि वरदान नै भएको विजयबस्तीका किसान बताउँछन् । विजयबस्ती मात्र नभएर सुवर्णपुर, निर्मलबस्ती, निचुटा, महादेवपट्टीलगायत उत्तरी भेगका अधिकांश किसान सुर्ती खेतीबाट मालामाल भइरहेका छन् ।

वर्षामा सुर्ती सुकाउन समस्या हुने भएकाले असोज– कात्तिकको सिजनलाई किसानले मुख्य सुर्ती खेतीका रूपमा लिने गरेको पर्साको सुवर्णपुरका किसान लछुमाया बस्नेतले बताइन् । सक्नेले लगाउने र कमाउने नगदेबाली भन्दै पाँच सात वर्षपहिले मध्य तराईमा सनसनी मच्चाएको पर्साको अवैध गाँजा खेतीको विकल्प अहिले सुर्ती खेती भएको छ । वीरगन्जको चिनी मिल २०५९ सालमा बन्द भएपछि उखु खेती गरी नगदेबालीबाट आर्थिक उपार्जन गर्दै आएका किसान बाध्यतावश त्यसको विकल्पमा गाँजा खेतीतर्फ हानिएको किसानको गुनासो छ ।

आर्थिक वर्ष २०७४÷७५ मा मात्र पर्साका ५ हजार ८ सय ६१ किसान परिवारको आन्दानीको स्रोत बनेको सुर्ती खेतीबाट जिल्लामा कुल १८ करोड ५० लाख भित्रिएको छ । सूर्य नेपालले स्वदेशी सुर्ती खरिद गर्ने बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी र मकवानपुर, चितवन, नवलपरासीलगायत मध्य तराईका नौ जिल्लामा पर्सा सबैभन्दा बढी भुक्तानी उठाउने जिल्ला नै रहेको सूर्य नेपाल प्रालिका लिफ म्यानेजर माधव खनालले बताए । यो रकम असोज–कात्तिकको सिजनको भुक्तानीको १३ करोड र माघमा रोपेको सुर्तीको साढे ५ करोड गरी दुई सिजनमा कम्पनीले पर्साका किसानलाई मात्र भुक्तानी गरेको तथ्यांक हो ।
सूर्य नेपाललाई सुर्ती बेच्ने मध्य तराईका १० जिल्लाको कूल १ हजार ३ सय ७० हेक्टर जमिनमध्ये पर्सामा मात्र ९ सय ८० हेक्टर जमिनमा सुर्ती खेती हुने गरेको सूर्य नेपाल प्रालिका लिफ अफिसर तथा पर्सा इन्चार्ज जीवन नेपालले तथ्यांक देखाउँदै राजधानीलाई बताए ।
सूर्य नेपालले नेपालमा खरिद गर्ने कुल २ हजार २० मेट्रिक टन सुर्तीमध्ये पर्साबाट मात्र १ हजार ५ सय १८ मेट्रिक टन सुर्ती उत्पादन हुने गरेको देखिन्छ ।


SHARE