वीरगन्जमा हुण्डी कारोबारीहरुको एक करोड १५ लाख र ८ लाख भारु सहितगरि २ पक्राउ

2731

वीरगञ्ज २४ असार वीरगञ्जमा प्रहरीले एक करोड १५ लाख रुपैयाँभन्दा बढी रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जको रानीघाटबाट सो नगदसहित आइतबार एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले स्थानीय राहुल केशरी पक्राउ परेको बताए । प्रहरीले केशरीबाट स्रोत नखुलेको १ करोड १५ लाख ५ हजार १ सय ५० रुपैयाँ नगद बरामद भएको बताएको छ ।

त्यसैगरी शनिबार अवैधरुपमा भित्र्याउन लागिएको भारतीय रुपैयाँसहित एकजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय इनर्वाले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका अभिजितकुमार सर्राफलाई पनि आइतबारै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

भारतीय ५ सय दरका ७ लाख १९ हजार, २ हजारका २२ हजार र २ सय दरको ६० हजार २ सय गरी ८ लाख एक हजार २ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक ढकालले बताए । मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेका सर्राफलाई प्रहरीले सुराकीमा आधारमा वीरगञ्जको रजतजयन्तिचोकमा खानतलासी लिएर समातेको थियो ।

मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याइएको अवस्थामा भारतीय रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका दुवैजनालाई अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरीले बतायो ।


SHARE