×

वीरगन्ज २३ असार मजदुर र कर्मचारी असुरक्षाको कारण देखाउँदै काम छाडेर हिँडेपछि पर्सामा निर्माणाधिन हुलाकी सडकको निर्माण कार्य अन्योलमा परेको छ । कमसल निर्माण सामाग्री प्रयोग गरिएको भन्दै पर्साको ठोरी गाउँपालिका ४ विजयबस्तीका स्थानीयले विरोध गरेपछि गत शनिबारदेखि रोकिएको हुलाकी सडकको काम शुक्रबारदेखि सुचारु गर्ने सहमति भएको थियो । बिहीबार साँझ ठोरी ४ गोपीबस्तीका स्थानीय केही युवाले हुलाकी सडक निर्माणको ठेक्का लिएको कालिका बानिया जेभी कन्स्ट्रक्सन प्रालिका मजदुरलाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि अन्य चालक, मजदुर र कर्मचारी बिहीबार रातिदेखि नै काम छाडेर हिँडेका छन् । बिहीबार साँझ स्थानीयको आक्रमणबाट टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका ३ घर भएका जब्बरबहादुर लामा गम्भीर घाइते भएका थिए । घाइते लामालाई विजयबस्ती स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । ठेकेदार कम्पनीका मजदुर र चालक बस्दै आएको क्याम्प पछाडि रहेको एक होटेलमा बिहीबार साँझ खाजा खाइरहेका बेला टिपर चालक लामालाई गोपीबस्तीका केही युवाले घरेलु हातहतियारले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले गोपीवस्तीका अमृत बम्जन, मुगा लामा र विक्रम पाख्रिनलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

यसअघि अघिल्लो शुक्रबार पनि विजयबस्तीमा ठेकेदारले कमशल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले कालिका कन्स्ट्रक्सन प्रालिका प्रोजेक्टर मनोज सिग्देल सवार गाडीका चालक राजकुमार बाइवालाइ हातपात गरेका थिए । चालक लामालाई गोपीवस्तीका युवाले घाइते बनाएपछि सडक निर्माणमा कार्यरत इन्जिनियर, ओभरसियर, चालक र मजदुर काम छाडेर हिँडेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका प्रजोक्टर म्यानेजर मनोज सिग्देलले बताए । एक हप्ता देखि काम रोकिदा निर्माण कम्पनीलाइ दैनिक १५ लाख रुपैयाँको आर्थिक नोक्सानी भइरहेको प्रोजेक्टर म्यानेजर सिग्देलले जानकारी दिए । शनिबारदेखि विजयबस्तीका स्थानीयले काम रोकेपछि बिहीबार भारतीय कन्सल्टेन्ट कम्पनीका इन्जिनियर महम्मद अतुल्लाहको नेतृत्वमा आएको प्राविधिक टोलीले निर्माणाधिन हुलाकी सडकको वस्तुगत अवस्था बारे स्थलगत जानकारी लिएको थियो । सडकको निरीक्षण गरेपछि भारतीय इन्जिनियर अतुल्लाहले स्थानीयको माग बमोजिम सडकमा माटो फिलि·को मात्रा वृद्धि गरी सडकको उचाई बढाउन र कल्भर्टको पुन:निर्माणका लागि फेरि सर्भे गरेर काम गर्न सकिने बताएपछि विजयबस्तीका स्थानीय शुक्रबारदेखि काम सुरु गर्न सहमत भएका थिए । काम सुरु गर्ने सहमति भएपनि बिहीबार साँझ चालकमाथि आक्रमण भएपछि काम अन्योलमा परेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बिहीबार साँझ भएको घटनाका बारेमा आफूले मातहतका प्रहरी मार्फत जानकारी लिने बताए । उनले सडक निर्माणमा खटिने ठेकेदार कम्पनीका मजदुर, कर्मचारी र चालकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए । पर्साको जीराभवानी गाउँपालिकाको सेढवास्थित चमरी टोलदेखि ठोरी गाउँपालिकाकाको चौतारसम्म ३० किलोमिटर हुलाकी सडक निर्माणको ठेक्का कालिका कन्ट्रक्सनले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा स्वीकार गरेको हो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने सम्झौता भएको थियो ।

Back to top