×

वीरगन्ज १८ असार - कोरम नपुगेर गत असार १० गते स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाको दोस्रो नगरसभा अाज (सोमबार) का लागि आवहान गरिएको छ । भित्र भित्रै कुरा मिलाइयो नगर प्रमुख सरावगीले कुरा मिल्न बाँकी रहेको बताएपनि भित्र भित्रै कुरा मिलिसकेको स्रोतले जनाएको छ । विभिन्न पार्टीका वडा अध्यक्षहरुसँग गोप्य बैठकहरु समेत गरेर वडा सदस्यहरुलाई फकाउन लगाइएको थियो ।

त्यसले गर्दा करिब करिब सबैसँग सहमति भइसकेको स्रोतले जनाएको छ । नगर परिषदल सफल बनाउन एमाले सहमत भइसकेको छ । कांग्रेसका केही सदस्य पनि नगर परिषद सफल बनाउनुपर्ने पक्षमा छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म कुमार भुषालले पनि वडा सदस्यहरुको मागका बारेमा सुनुवाई नगर सभामा नै हुने बताए ।

उनले वडा अध्यक्षहरुले नै सदस्यहरुसँग छलफल गरेको जानकारी दिए । ‘छलफल त निरन्तर भइनै रहेको छ, यसअघि कम्युनिकेशनको अभावमा समस्या भएको हो,’ उनले भने, ‘अब बिस्तारै उहाँहरुले पनि कुरा बुझ्दै हुनुहुन्छ, आशा छ नगर सभा सफल हुन्छ ‘ वीरगञ्ज महानगरपालिकाका वडा नं ११ का वडा अध्यक्ष प्रधुम्न सेढाईले वडा अध्यक्ष तहमा सहमति भइसकेकोले नगर परिषद सफल हुनेमा आशावादी रहेको बताए । ‘कानून अनुसार दिन सकिने सेवा सुविधा दिने कुरा भएको छ,’ उनले भने, ‘साथीहरु सहमतिमा आउनुहुन्छ होला ।’ बन्दसत्र हुन नसक्दा वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को लागि सार्वजनिक गरेको ४ अर्ब ९७ करोड १ लाख ७७ हजार रुपैयाँको अनुमानित वजेट पनि पारित हुन सकेको छैन ।

असन्तुष्ट जनप्रतिनिधिहरुका मागहरुका बारेमा परिषद्मै छलफल गर्ने भन्दै महानगरपालिकाले सोमबारका लागि परिषद्को बन्दसत्र आव्हान गरेको छ । सोमबार नगर सभागृह (टाउन हल) मै बन्द सत्र हुने नगर कार्यपालिकाले सूचना जारी गरेको छ । अधिकांश ठाउँमा नगर परिषद सम्पन्न भएको भएपनि प्रदेश नं २ कै एक मात्र महानगरपालिकामा वडा सदस्यहरुको विरोध जनाएपछि कारण नगर परिषदको बन्दसत्र स्थगित भएको थियो । वीरगञ्ज महानगरपालिकामा १६२ जना नगर परिषद सदस्य छन्, बन्द सत्रमा ५० प्रतिशत भन्दा बढी उपस्थित हुनु पर्नेमा असार १० गते ४३ जना मात्रै उपस्थित भएका थिए ।

वडा सदस्यहरुले विभिन्न सेवा सुविधाको माग राखेका थिए । उनीहरुले बैठक भत्ता पाउनुपर्ने, मासिक १० हजार तलब, भ्रमण खर्च, औषधी उपचार खर्च, बीमा, मोटरसाईकल, पेट्रोल मासिक १० लिटर पाउनुपर्ने, बजेट बाँडफाँट गर्दा वडा अध्यक्षलाई ४० प्रतिशत र वडा सदस्यलाई ६० प्रतिशत हुनुपर्ने लगायत १२ बुँदे माग उनीहरुको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा सदस्यहरुको माग पूरा नगरेपनि नगर सभामै छलफल गर्ने तयारी भइरहेको बताए । ‘वडा सदस्यहरुको माग पूरा गर्न सकेका छैनौं, ठाउँमै आएर कुरा गरौं भन्ने हाम्रो आग्रह हो, सडकबाट माग पूरा गर्न सकिने पनि होइन,’ उनले भने, ‘७ हजार तलब मात्रै दिने कानुनी सुविधा छ । कानूनले तोकेको दिने हो । कानून भन्दा बहिर गएर निर्णय गर्ने कुरा पनि भएन ।

उनीहरुको प्रस्तावलाई छलफलमा ल्याउन हामी तयार छौं । मैले त पहिलेदेखि नै यही भन्दै आएको छु ।’ नगरसभाका लागि सबै सकारात्मक देखिएको उनको भनाइ छ । ‘पहिलोपटक आव्हान गर्दा ५० प्रतिशत भन्दा बढी सदस्य चाहिन्थ्यो अब २५ प्रतिशत सदस्य उपस्थित भए पनि कोरम पुग्छ ।’ प्रमुख सरावगीले भने, ‘तरपनि सबैलाई मिलाएर लैजाउ भन्ने हाम्रो सोच हो ।’

Back to top