×

वीरगञ् ७ असार वीरगञ्ज नाकाबाट छाला निकासी भन्दै भारततर्फ मरीच लैजान खोजेको आरोपमा राजस्व अनुसन्धान विभागले वीरगञ्जका उद्योगी सञ्जय अग्रवाललाई हिरासतमा लिएको छ । बयान दिन विभागमा पुगेका अग्रवाललाई विभागले थुनामा पठाएको हो । मरीच तस्करीमा अग्रवालको संलग्नतालाई बल पुग्ने आधार फेला परेपछि हिरासतमा लिइएको अनुसन्धान अधिकृत ध्रुव पोखरेलले बताए । ‘सञ्चालकसित धरौटी मागियो । धरौटी बुझाउन नसकेपछि थुनामा पठाइएको छ,’ पोखरेलले भने । ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवालसित विभागले ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । यो प्रकरणमा थप अनुसन्धान भइरहेको विभागले बताएको छ । गत जेठ २१ गते वीरगञ्जको मूल नाका पार भएर भारततर्फ प्रवेश गर्न लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । छाला निकासी गर्ने भन्दै कागजात बनाएर मरीच तस्करी गरेको पोल खुलेपछि यसको असुन्धानमा विभागले हात हालेको थियो । तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन् । प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर छ । मरीच बोकेको ट्रकका चालक र भन्सार एजेण्ट दिलीप श्रीवास्तवलाई पनि हिरासतमा लिएको छ । अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो । प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरीच बरामद भएको थियो । अग्रवालले मरीच तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रज्ञापनमा २ ओटा ट्रक नम्बर उल्लेख गरिएको छ । तीमध्ये एचआर ५५ यु ४०६८ नम्बरको ट्रकमा छाला निकासी भएको बताइएको छ । अर्को ट्रकमा मरीच फेला परेको थियो । भन्सारको प्रज्ञापनमा २ ओटा ट्रकमा २५ मेट्रिकटन वेट ब्लु छाला रहेको उल्लेख छ । तर, बीलमा २० मेट्रिकटन छ । गाडीको तौल भने २६ मेट्रिकटनभन्दा बढी देखाइएको छ । प्रज्ञापनमा केरमेट गरी ट्रक नम्बर सच्याइएको छ । ग्लोबलले पेश गरेका कागजातमा तौलमा देखिएको अन्तर र प्रज्ञापनमा देखिएको त्रुटीले अग्रवालको संलग्नताको आधार बलियो देखिएको विभाग स्रोतको दाबी छ । प्रज्ञापनमा युपी १५ डीटी २५ नम्बरलाई कलमले काटेर त्यसमाथि एचआर ५५ यु ४०६८ नम्बर चढाइएको छ । ढुवानी साधनको नम्बर गल्ती भएमा भन्सारको प्रक्रिया पु¥याएरमात्र सच्याउन मिल्नेमा छापमात्र लगाइएको छ । विभागले छाला उद्योगी, भन्सार कर्मचारी, भन्सार एजेण्ट र वीरगञ्जका अन्य व्यवसायीलाई अनुसन्धानको घेरामा राखिएको बताएको छ ।

Back to top