×

वीरगन्ज ४ असार उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगन्ज र जिल्ला अदालतले प्रदेश सरकारको निर्णयलाई बेवास्ता गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको सबै भन्दा ठुलो पर्व ईदुल फित्र (इद) को अवसरमा असार ३ गते आइतबार सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेपनि उक्त निर्णयलाई बेवास्ता गर्दै उच्च अदालत र जिल्ला अदालतले आइतबार इजलास संचालन गरेका छन् । प्रदेश सरकारको निर्णयलाई सम्मान गर्दै पर्सामा रहेका अन्य सबै कार्यालयले विदा दिएपनि उच्च अदालत अस्थायी इजलाश वीरगन्ज र जिल्ला अदालतले सेवालाई सुचारु नै राखेका थिए ।

प्रदेश सरकारको आदेशमा वीरगन्जमा रहेको जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, जन स्वास्थ्य, खानेपानी, विद्युत प्रधिकरण, शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, महानगरपालिका लगायतले विदा दिएका थिए भने, वीरगन्ज भन्सार कार्यालय, सिर्सिया सुख्खा बन्दरगाह भन्सारको साथै वीरगन्जमा रहेका बैंकहरुले सेवालाई सुचारु नै राखेका थिए ।

प्रदेश सरकारको निर्णयलाई अमान्य गर्नु वरो उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका रजिष्ट्रार बाबुराम दाहालसंग बुझ्दा उहाँले प्रदेश सरकारले निर्णय गरेको मितिमा कार्यालय विदा गर्न गृह मन्त्रालय तथा सर्वोच्च अदालतबाट कुनै निर्देशन नआएकाले कार्यालयको काम कार्यवाहीलाई सुचारु राखिएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्ने आफुहरुको कुनै उद्देश्य नभएपनि सर्वोच्च वा गृह मन्त्रालयबाट आदेश नै प्राप्त नभएकाले कार्यालय संचालन गरिएको बताउनुभयो ।

Back to top