×

वीरगंज २२ जेठ सुन तस्करीले नेपालको अर्थ व्यवस्थामा ठूलै उथल पुथल ल्याएर नेपालका सम्पूर्ण निकायको ध्यान सुन तस्करी प्रकरणतर्फ मोडिएको मौकाको फाइदा उठाउँदै वीरगंज भन्सारका कर्मचारहरूको मिलोमतोमा व्यापक तस्करी भइरहेको समाचार जानकारीमा आएको छ । युपी ७८ बिपी ३८०४ नम्बरको भारतीय ट्रक सोमबार साँझ करिब ७:३० बजे वीरगंज भन्सारको मूख्यद्वारबाट पास भई भारतको रक्सौलतर्फ निकासी हुनै लागेको अवस्थामा मितेरी पुलबाटै प्रहरीले नियन्त्रणमा लिएपछि तस्करीको जालोले वीरगंज भन्सारलाई नराम्ररी जाकेको रहस्य खुलेको हो । प्राप्त समाचार अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिई चेक जाँच गर्दा सो भित्र ठूलो परिमाणमा मरिच रहेको पाइएको थियो ।

सूत्रका अनुसार वीरगंज भन्सारबाट सो ट्रकमा कर्मचारीको मिलोमतोमा भूस रहेको देखाई मरिच पास गरिएको थियो । यता सो सम्बन्धमा वीरगंज भन्सारका निमित्त प्रमुख पुष्कर उप्रेतीलाई सम्पर्क गरी बुझ्दा सो सम्बन्धमा आफूलाई केही जानकारी नभएको र कार्यालयमा बुझ्दै गरेको बताए । एक दिन अघि मात्र पर्सा प्रहरीले करिब दुई क्वीन्टल मरिच भारततर्फ चोरी पैठारी गरी निकासी गर्दै गरेको अवस्थामा बरामद गरेको भोलीपल्टै सो परिमाणको मरिच भन्सारको मूख्यद्वारबाट पनि निकासी भइरहनुले नेपालको अर्थतन्त्र ध्वस्त पार्न भन्सार कर्मचारीहरू पूर्ण रुपमा लागिपरेको बताईन्छ । समाचार श्रोतले दिएको जानकारी अनुसार भारतबाट आलु लिएर आएको सो ट्रक फर्किने क्रममा भन्सारका कर्मचारीको मिलोमतोमा मरिच लगायतका बहुमूल्य सामग्री तस्करी गर्दै आएको छ ।

Back to top