×

वीरगन्ज १६ जेठ सङ्घीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टीसँग सोमबार दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी हुने निर्णय गरेसँगै प्रदेश २ को राजनीति पनि तरङ्गित भएको छ ।फोरम नेपालकै नेतृत्वमा रहेको प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको अर्को दिन नेकपाकै नेतृत्वको सरकारमा सहभागी हुने भन्दै फोरम नेपालले सहमति पत्रमा हस्ताक्षर गरेको थियो ।

केन्द्रमा फोरम नेपाल नेकपा नेतृत्वमा सहभागी भएपछि प्रदेश २ मा अब फोरम–राजपा गठबन्धनको भविष्य के हुने हो भन्ने अन्योल देखिएको छ ।केन्द्रीय सरकारमा फोरम, नेपाल सहभागी हुने भएपछि प्रदेश २ को सरकार पनि प्रभावित हुने सम्भावना छ ।मधेस मामिलाका जानकारहरू नेकपाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिनु त्यसैको सङ्केत मान्छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री लालबाबु राउत बीचको टसलले प्रदेश २ को सरकारलाई प्रभावित हुने आशङ्कालाई बल पुगेको छ ।स्रोत भन्छ, ‘प्रधानमन्त्री ओली प्रदेश २ मा लालबाबु राउतलाई मुख्यमन्त्रीका रूपमा हेर्न चाहेका छैनन् ।’यो कुराको गुनासो प्रधानमन्त्री ओलीले उपेन्द्र यादवसँग पनि गरेका छन् । प्रधानमन्त्री ओलीले लालबाबु राउतलाई मुख्यमन्त्रीबाट हटाउन उपेन्द्र यादवसँग आग्रह गरेका छन् ।‘मुख्यमन्त्री राउतका कारण विवाद भएको छ । मधेसमा मेरो र केन्द्र सरकारको बारेमा टीका टिप्पणी भइरहेको छ । मधेसमा सम्बन्ध सुधार भइरहेको थियो । त्यही अवस्थामा मुख्यमन्त्री राउतले केन्द्र सरकारको टिप्पणी गर्न थालेपछि मधेसमा झन् आलोचन सुरु भएको छ,’ प्रधानमन्त्री ओलीले उपेन्द्र यादवसँग गुनासो गरेको स्रोतले बतायो ।संसदमा प्रतिपक्षको भूमिका नपाएको भन्दै नेकपाले समर्थन फिर्ता लिएको बताएको थियो । त्यसपछि राजपा नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले जेठ १३ गते प्रदेश संसदमा सम्बोधन गर्दै मुख्यमन्त्रीको भाषणकै कारण नेकपाले समर्थन फिर्ता लिएको दाबी गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष संविधान संशोधनको विषय मुख्यमन्त्री राउतले उठाउँदा त्यसलाई मन नपराएर नेकपाले समर्थन फिर्ता लिएको दाबी सुमनको थियो ।

Back to top