×

वीरगंज, जेष्ठ १२ - पर्सा जिल्लाको प्राथमिक विद्यालयहरु जिल्ला शिक्षा कार्यालय पर्साले विग्तका दिनमा गरेको लापरवाहीका कारण अहिले लथालिङ्ग अवस्थामा पुगेका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुलाई एक आपसमा गाभी (मर्ज) गरी अध्ययन अध्यापन गराउन भनेपनी जिल्ला शिक्षा कार्यालय पर्साले विग्तका दिनमा मर्ज नगरेकै कारण अहिलेका दर्जन बढी प्राथमिक विद्यालयहरुको भौतिक पुर्वाधार, विद्यार्थीको पढाई लथालिङ्ग अवस्थामा पुगेको हो ।

पर्सा जिल्लाको श्री नेरा प्रावि जनकिटोला, गम्हरीया, पाडेपुर, सुवर्णपुर, नेपाल रेडक्रस प्रावि पोखरीया, नेरा प्रावि सेमरवारी बार्वा, दलित मुक्ति प्रावि सिर्सिया, नेरा प्रावि भिष्वा लगायत वीरगंज महानगरपालीका भित्र सञ्चालनमा रहेको राधेमाई प्रावि, नेरा प्रावि मुस्लि टोल बहुअरि, नेरा प्रावि गहवा, रात्री माध्यमिक विद्यालय लगायतको विद्यालयहरुलाई मर्ज नगरेकै कारण अहिले अध्ययन अध्यापन विनै शिक्षकहरुको कमाई खाने भाडो बनेको छ ।

विग्त लामो समयदेखी सञ्चालनमा रहेको तर विद्यालयमा विद्यार्थी संख्या शून्य, विभिन्न विवाद हुँदै अध्ययन अध्यापनको स्तर समेत खस्कदै गईरहेको अवस्थामा नजिक रहेका अर्को विद्यालयहरुसँग मर्ज नगरि सञ्चालनको अनुमति बर्षेनी दिदै आएकोले अहिले विद्यार्थीहरुको अध्ययनमा बाधा पुग्दै गएको हो ।

विक्रम सम्वत् २०१८ सालमै स्थापना भएको पर्सा जिल्लाको जगरनाथपुर गाऊँपालिका अन्तर्गत पर्ने श्री नेरा प्रावि जानकीटोलामै शुशु कक्षादेखी ५ सम्म अध्ययन गराउन ३ जना दरबन्दीका शिक्षकहरु छन् तर तिनवटा समेत कक्षाकोठा नै छैनन् । तरपनी सञ्चालनमा रहेको छ । लामो ईतिहास बोकेको ५७ वर्ष पुरानो यस विद्यालयमा शिशुदेखी ५ कक्षासम्म अध्यापन गराउनका लागी दुईवटा मात्रै कक्षा कोठा रहेका छन् ।

शिशुदेखी तिनसम्म एकवटा कक्षाकोठामा पढाउने गरेको छ भने, ४ र ५ को अर्को कक्षा कोठामा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक जियालाल प्रसादले बताए । अध्ययन गरिरहेका कक्षा ५ का विद्यार्थीहरुलाई नेपाली समेत शुद्ध पढ्न आउँदैनन् तरपनी बर्षेनी पास हुदैँ कक्षा बढ्ढै गएको छ । हाजरी रजिष्टरमा जम्मा विद्यार्थी संख्या एक सय ९९ देखाएपनी जम्मा जम्मी २० जना पनी मुश्किलले आउने गरेको पाईएको हो ।

कक्षाकोठाको समेत चरम अभाव रहेको यस विद्यालयमा अध्यापन स्तरीय नभएकै कारण विद्यार्थीहरु भर्ना भएपनी आउन नमान्ने गरेको विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष शिवसंकर प्रसाद यादवले बताए । उनले भने, अपेक्षा गरिएका अनुसारको अध्यापन हुँदैन जानकीटोला मै ३ वटा बोर्डिङ्ग स्कुल छन् त्यसैले पनी अभिभावकहरुले सरकारी विद्यालयमा पढाउन मान्दैनन् ।

यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिका अन्तर्गत पर्ने नेपाल रेडक्रस प्रावि पोखरीया मै एक जना प्रधानाध्यापक मात्रै छन् भने २ जना बालविकास केन्द्रका शिक्षकले अध्यापन गराउने गरेको छ । मुश्किलले १५ जना विद्यार्थी आउने यस विद्यालयको समेत उस्तै समस्या छ । हरेक वर्ष विद्यालय भर्नाका बेला रजिष्टरमा सयाँै पुग्ने विद्यार्थीहरु कक्षाकोठामा कहिले देखिन्न् । तरपनी शिक्षा कार्यालयले सञ्चालन गराऊँदै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले हेर्ने गरेको विद्यालयहरु स्थानीय निकायमा आएको छ । विद्यार्थी न्यून भएरपनी सञ्चालन भएका विद्यालयहरुलाई के गर्ने नगर्ने भनि जनप्रतिनिधिमा अन्यौलता उस्तै रहेको छ ।

वीरगंज महानगरपालिका भित्रै रहेको नेपाल राष्ट्रिय रात्रि माविमा उपस्थित हुने विद्यार्थी भन्दा शिक्षक नै बढी छन् । ८ जना दरबन्दी रहेको शिक्षकहरु हाजरमा जम्मा एक सय ४० विद्यार्थी देखिएपनी वर्षिक मुल्यांकन अनुसार मुश्किलले ५-१० जना विद्यार्थी उपस्थित हुने गरेको छ । यद्दपि अहिले भर्ना अभियान चलिरहेका कारण विद्यार्थीको संख्या बढी देखेको छ तर पढाउनै नपर्ने विद्यालयमा यतिका धेरै शिक्षक दरबन्दी हुनु काम विनाको माम खानु सरह नै रहेको स्थानीयहरुको भनाई छ ।

विशेष गरी दलित र मुस्लिम समुदायका विपन्न परिवारको शिक्षाका लागी स्थापना गरिएको विद्यालयहरु अहिले शिक्षकको पेट पाल्ने उपाय बनेको छ । जिल्लाको प्राय विद्यायलमा शिक्षक संख्या सुन्य छन्, भने केही विद्यालयमा भएका शिक्षकहरु समेत अन्यत्र पाएक पर्ने स्थानमा गईसकेकाले प्राय प्राथमिक विद्यायलहरुको अवस्था लथालिंग भएको हो ।

विद्यालयहरु स्थानीय निकायमा गभिएपछी अहिले स्थानीय जनप्रतिनिधिहरुले विद्यार्थी संख्या कम भएका विद्यालयहरु पायक पर्ने विद्यालयमा गाभ्नुपर्ने अडान लिएका छन् भने वीरगंज महानगरपालिकाकाले यस्ता विद्यालयहरुलाई मर्ज गर्न सर्वेको काम सकाई मर्ज गर्न अन्तिम चरणमा रहेको शिक्षा अधिकारी मन्जुर अंसारीले बताए ।

उनले भने शिक्षक नैं नभएका विद्यालयमा तुरुन्त शिक्षक व्यवस्थापन गर्न समेत आँफु लागी परेको बताउँदै शिक्षाको संरचना नैं स्थानिय तहमा गईसकेको कारण जनप्रतिनिधिले नैं अब शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने भन्दै महानगरपालिकाका मेयर सावको निर्देशनले समेत महानगरपालिका धेरै अगाडी बढिसकेको उनले प्रतिक्रिया दिए ।

Back to top