यातायात कार्यालय वीरगञ्जका कमर्चारीहरूकाे एनिहाउ माल कमाउ धन्दा

525

वीरगंज, जेष्ठ ४ – नारायणी यातायात व्यवस्था कार्यालय वीरगंजका कर्मचारीहरूले विभागीय निर्देशनको ठाडो उल्लंघन गरी अनियमितता गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था विभागले सवारी साधन चालक अनुमतिपत्रका लागि आवेदन दिने परीक्षार्थीको लागि तथा नियम तर्जुमा गरी लागू गर्न जारी गरेको निर्देशिकालाई नारायणी यातायात व्यवस्था कार्यालय वीरगंज लाईसेन्स तर्फका शाखा अधिकृत रोहित कोइराला सहितका कर्मचारीहरूले ठाडो रुपमा उल्लघन गरी अर्थलाभ गरी अनुमति पत्र वितरण गर्ने गरेको आरोप छ ।

यातायात व्यवस्था विभागले निर्देशिका २०६० लाई संशोधन गरी २०७४ जारी गर्दै चैत महिनाबाट अनिवार्य लागू गर्न निर्देशन जारी गरेको थियो । निर्देशिकामा परीक्षार्थीले प्रयोगाात्मक परीक्षा दिँदा परीक्षार्थीले प्रयोग गरेको सवारी साधनमा प्रष्टसँग बुझ्ने गरी परीक्षार्थीको सिम्बल नम्बर राख्नु पर्नेछ । तर, नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जकका कर्मचारीहरूले विभागीय निर्देशन लागू नगरी मनपरी रुपमा काम गर्दै आएका छन् ।

लिखित परीक्षा दिने परीक्षार्थीसँग मोटो रकम लिई कर्मचारीले परीक्षा फारम भर्ने र फेल हुने परीक्षार्थीसँग समेत रकम लिई पास गर्ने गरेको पाइएको छ । त्यस्तै प्रयोगात्मक परीक्षा दिँदा सिसी क्यामरामार्फत फोटो खिच्ने व्यवस्था गरिएको भएतापनि विभागीय निर्देशन अनुसार कर्मचारीले काम नगर्दा को पास भयो र को फेल भयो एकिन गर्न नसकिने अवस्था रहेको छ ।

नारायणी यातायात व्यवस्था कार्यालयको तल्लोदेखि माथिल्लोसम्मको कर्मचारीहरूको मिलोमतोमा विभागीय निर्देशनको उल्लंघन गरी अर्थलाभ गरिरहेको सोही धन्दामा आबद्ध कर्मचारीले जानकारी दिएका छन् ।