वीरगंजमा नाबालिक किनवेच गरेको भन्दै प्रहरीमा उजुरी, अभियुक्त फरार

5340
तस्विर : संजय खेम्काको फेसबुकबाट ।

वीरगंज, जेष्ठ १ – वीरगंजका एक जना माथि एक १२ वर्षिया नाबालिका खरिद गरी घरमा बन्धक बनाएर राखेको पर्सा प्रहरमिा उजुरी परेको छ । वीरगंज–५ रेशमकोठी स्थित लक्ष्मी एपार्टमेन्टको कोठा नं १३ मा बसोबास गर्दै आएका सन्जय खेम्का माथि बाराको प्रसौनी गाउँपालिका वडा नं ४ की १२ वािर्षया नाबालिका अनिता कुमारीलाई रु ५ लाखमा खरिद गरी घरमा बन्धक बनाएको आरोप छ ।

बेचिएकी नाबालिकाका काका पर्ने रमेश कलवारले आफनो भतिजीलाई खरिदबिक्री गरी बन्धक बनाइएको बताएका छन् । उनले भतिजीलाई घरको काम गराउने र पछि लगेर भारतमा बेच्ने मनसायले खरिद गरिएको हुन सक्ने अशंका व्यक्ति गरेका छन् । नाबालिकालाई बेच्न निजकी आमा शोभा देवी(रमेशको भाउजु) र शोभाका बहिनी ज्वाई पर्ने बाराको विश्रामपुर गाउँपालिका वडा नं.४ पर्ने मुसहर्वाका राजकुमार साह कलवारको पनि संलग्नता रहेको उजुरी पत्रमा उल्लेख छ ।

रमेशका अनुसार उनको दाइ नरेश कलवार केही महिना यता वैदेशिक रोजगारीमा बस्दै आएको मौका छोपी पैसाको लोभमा भाउजु, शोभा र राजकुमार मिलेर भतिजी अनितालाई खेम्कालाई बेचेको बताएका छन् । वैशाख २८ गतेका दिन अनितालाइ लिएर भाउजु घरबाट माइत जादैछु भनी भागेकी थिइन् । भाउजु शोभाको माइत बिहारको मोतीहारी हो ।

भतिजी अनितालाई वीरगंजमा बेचेर पैसा लिएर बहिनी ज्वाईसहित उनी पनि भारत तर्फ फरार भएको पत्ता लागेको उनले बताए । दुबैको मोबाइलमा सम्पर्क गर्दा मोबाईल स्वीच अफ गरिएको छ । यता, पर्सा प्रहरीमा वैशाख ३० गते उजुरी परेपछि पर्सा प्रहरीले अनुसन्धान तिव्र बनाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए ।

लिम्बुका अनुसार नाबालिकाको उद्धार र दोषीलाई नियन्त्रणमा लिइ कानुनी कारवाही अघि बढाईएको छ । ‘नाबालिका खरिद बिक्री गरेको बारेमा प्रहरी लागेको छ, सन्जय खेम्का दिल्ली तर्फ भागेको सूचना पाएका छौ, ’उनले भने, ‘घरमा तीन दिन भित्र उपस्थित गराउने आश्वासन पाएका छौ ।’

खेम्काले मुद्दा मिलापत्र गर्न अनिताको काकालाई एक्लै घरमा बोलाए तापनि प्रहरीमा उजुरी परेको थाहा पाएपछि उनी दिल्ली तर्फ भागेको स्रोतको दावी छ । वैशाख २९ गते खोज तलासको क्रममा लक्ष्मी एपार्टमेन्ट नजिक भतिजी अनितालाई देखेपछि खेम्काले घरलान नदिएको र राजकुमारले मलाई नगद लिएर जिम्मा लगाएको बताए । वीरगंज पोस्ट


SHARE