×

काठमाडौं, वैशाख २१ - संघीय समाजवादी फोरम नेपालको महाधिवेशन मिति तय भएको छ । साथै, फोरमको पार्टी कार्यालयका आफ्नै भवन निर्माण गर्ने निर्णय पनि गरेको छ ।

तीन दिनदेखि जारी संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको छैठौ बैठक शुक्रबार सम्पन्न भएको छ । बैैठकले पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्नेदेखि, संविधान संशोधन, सरकारमा सहभागिता र पार्टी कार्यालयको आफ्नै भवन निर्माण गर्ने लगायतको निर्णय गरेको छ ।

काठमाडौंमा शनिबार अबेर साँझ सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी माघ २७, २८ र २९ गतेका लागि जनकपुरधाममा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकको पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले उठेको आवाजलाई मूर्त रुप दिँदै संंविधान संशोधनबारे सरकारसँग लिखित एवं सार्थक सहमति नभएसम्म सरकारमा नजाने प्रष्ट पारेको छ ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङवाद्वारा प्रस्तुत कार्यसम्पादन प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

तीनकुनेमा केन्द्रीय कार्यालय रहेको फोरम नेपालले ललितपुर महानगरपालिका वडा नं. १४ स्थित रानीबुँमा पार्टीको भवन निर्माण गर्ने निर्णय गएको हो । पार्टीको नाममा हालै खरिद गरिएको सो जग्गामा भवन निर्माणको लागि वरिष्ठ नेता अशोक कुमार राईको संयोजकत्वमा सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ समेत रहने गरी ७ सदस्यीय ‘पार्टी केन्द्रीय कार्यालय भवन निर्माण समिति’ गठन गरिएको छ ।

प्रदेश नं. २ को पर्सा जिल्ला, वीरगंज महानगरपालिकामा पार्टीको केन्द्रीय स्तरको पार्टी प्रतिष्ठान एवम् प्रशिक्षण केन्द्र भवन निर्माण भयो ।

मधेशी, आदिवासी जनजाति लगायतका विभिन्न समुदायहरुको सामाजिक सांस्कृतिक एवम् धार्मिक पहिचानसँग सम्बन्धित रहेको राष्ट्रिय बिदाहरु कटौती गर्ने सरकारको निर्णय गलत भएको निष्कर्ष निकाल्दै सो निर्णयलाई फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ ।

बैठकले नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा भएको व्यवस्था अनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गरी सोको क्षेत्राधिकार समेतको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, जन्मसिद्ध नागरिकता प्राप्त गरिसकेका नेपाली नागरिकहरुका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिइनु पर्ने समेत आवाज उठाएको छ ।

नीति, सिद्धान्त मिल्ने पार्टी वा संगठनहरुसँग पार्टीगत एकता र मुद्दा मात्र मिल्ने शक्तिहरुसँग कार्यगत एकता एवं मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमा जारी नै राखिरहने निर्णय भएको छ ।

यसैगरी, फोरम नेपालको केन्द्रीय बैठकले पदाधिकारीमा रिक्त रहेको पदपूर्ति गर्दै राजनीतिक समिति र केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

बैठकले प्रकाश अधिकारीलाई पार्टीको उपमहासचिवमा चयन गरेको छ । बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद इस्तियाक राईनलाई केन्द्रीय सचिवमा चयन गरेको छ । पाँच जना राजनीतिक समिति र २७ जनालाई केन्द्रीय समितिमा बैठकले मनोनयन गरेको छ ।

Back to top