×

वीरगंज, वैशाख २१ - इण्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससामु ६ विकेटले पराजित भएको छ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।

१७८ रनको लक्ष्य पाएको कोलकाताले जवाफमा १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

उसकाे जितका लागि शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए। कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै नटआउट ४५ रन जोडे। सुनिल नरेनले २० बलमा चार चौका र दुई छक्काको मदतमा ३२ रनको योगदान दिए।

बलिङतर्फ हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले एक/एक विकेट लिए।

चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ४३ रन बनाए। २५ बल खेलेका धोनी १ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे। शेन वाट्सनले ३६ रनको पारी खेले।

सुरेश रैना ३१ रनमा आउट हुँदा फाफ डु प्लेसिस २७ रनमा समेटिए। अम्बति रायडूले २१ रन र रवीन्द्र जडेजाले १२ रन जोडे।

बलिङतर्फ पियुष चावला र सुनील नरिनले २–२ विकेट लिए। कुलदीप यादवले १ विकेट लिए।

शीर्ष स्थानमा रहेको चेन्नई यो हारसँगै ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ भने कोलकाता ९ खेलबाटै १० अंकका साथ तेस्रो स्थानमा छ।

Back to top