×

वीरगंज, वैशाख २० - सरकारको यातायात व्यवसायी समिति खारेज गर्नेसहितका अन्य निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले भोलि (शुक्रबार) देशभरको सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेको जनाएका छन् ।

सवारी साधन ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेको बुझिएको छ । तर, आधाजसो व्यवसायी सवारी चलाउने पक्षमा रहेको बुझिएको छ ।

सिन्डिकेटको विपक्षमा रहेका र कम्पनी दर्ता गरेका यातायात व्यवसायीले भने सार्वजनिक साधन चलाउने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार आधाजसो व्यवसायीहरु गाडी चलाउने पक्षमा छन्।

गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने कुराकानी भइरहेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन्।

रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलित भएका हुन ।

आफूहरुको आन्दोलन जारी रहेको र शुक्रबार गाडीहरु ग्यारेजमा थन्काइने नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने सार्वजनिक यातायातमा अवरोध गर्नेहरुलाई कारबाही गरिने बताउँछन्।

यातायात व्यवसायीहरुले २७ गतेदेखि सार्वजनिक सवारीसाधन नचलाउने निर्णय गरेका छन्।

Back to top