वीरगंजमा पहिलो पटक डे-नाइट फुटबल प्रतियोगिता हुने

834

वीरगंज, वैशाख १८ – वीरगंजमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान्स ऐट साईड गोल्ड कप डे-नाईट फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि वैशाख २०, २१ र २२ गते हुने प्रतियोगितामा नेपाल र भारतका गरी ११ वटा भेट्रान्स क्लबले सहभागीता जनाउने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिए ।

रिटायर भएर बसेका खेलाडीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर प्रतियोगिताको आयोजना गरेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी तय गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अयोजक क्लबले जानकारी दिएको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता देशका विभिन्न स्थानमा हुने गरेको भएपनिअन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता संभवत नेपालमै पहिलोपटक हुन सक्ने भेट्रान्स सिटी क्लबकै विनोद परियारले बताए । प्रतियोगितामा अभिषेक चर्च रजहर नवलपरासी, विर्तामोड भेट्रान्स झापा, सिलगुडी भेट्रान्स बंगाल भारत, कैलाली भेट्रान्स कैलाली, चितवन भेट्रान्स चितवन, हेटौंडा भेट्रान्स मकवानपुर, मुंगेर भेट्रान्स बिहार भारत, सिमरा भेट्रान्स बारा, युवा स्पोर्टसक्लब वीरगञ्ज, बगरभाई खलक भेट्रान्स पोखरा, भेट्रान्स सिटी क्लब वीरगञ्जले भाग लिने छन् ।


SHARE