×

जितपुर-सिमरा, वैसाख १२ - गृहमन्त्री रामबहादुर थापा बादलले दुई नम्बर प्रदेश संवेदनशिल प्रदेश भएकाले त्यसै अनुसार सुरक्षा रणनिति बनाएर अघि बढ्ने बताएका छन् ।

दुई नम्बर प्रदेशको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको बुधवार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री बादलले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भिरता साथ अघि बढ्नु पर्ने बताएका हुँन् ।

खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भष्ट्राचार, प्राकृतिक विपद जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री बादलले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको बताए । गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्य योजना सहिँतको निष्कर्ष निकाल्ने बताए ।

‘यो गोष्ठी महाविद्यालय पनि हो , यहा हामी नयाँ परिवेशमा उत्पन्न भएका सुरक्षाको विषयमा गहन छलफल गर्छौं र नयाँ कार्य योजना सहिँत सुरक्षा रणनितिको निष्कर्ष निकाल्छौं’ गृहमन्त्री बादलले भने ‘जसले जनताको सुरक्षा , जनतालाई दिईने सेवालाई सहज बनाउँन मद्दत गर्छ ।’

देशको सात वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात दुई नम्बर प्रदेशबाट गर्नुमा राजनितिक अस्थिरता एउटा कारण रहेको गृहमन्त्री थापाले बताए । दुई नम्बर प्रदेशमा राजनितिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस बिषयमा पनि छलफल गर्ने बताए । ‘राजनतिकि स्थायित्व पहिलो आवश्यक्ता हो , हामी त्यसलाई प्रार्थमिकतामा राखेर छलफल गर्छौं’ गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले देशको समग्र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न र जनताले पाउँने सेवालाई मध्य नजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्य योजना सार्वजनिक गरेको बताए ।

गृहमन्त्रालय मातहत रहेका सबै निकायलाई काम गर्न कार्य योजनाले दिशानिर्देश गर्ने उनको भनाई थियो । ‘हामीले ८२ बुदे कार्ययोजना प्रतिपादन गरेका छौं, यो कार्य योजना देशभरका सुरक्षा र अन्य निकायलाई पठाउँने तयारीमा छौं’ गृहमन्त्री थापाले भने ‘कार्य योजनाले देखाएको बाटोमा अघि बढ्न सकियो भने सामाजिक सुशासन कायम हुँने छ ।’

गोष्ठीमा गृहसचिव प्रेम कुमार राई , प्रदेश निमित्त प्रमुख हरी फुयाल , प्रदेश दुई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव , नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा , नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल , सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल लगायत सुरक्षा निकायका उच्च अधिकारी , आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहिँत सुरक्षा प्रमुख लगायत उपस्थिती रहेको थियो ।

यस अघि सिमरा बिमान स्थलमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै गृहमन्त्री बादलले भूमिगत भएर तराईमा अपराधिक गतिविधि गर्ने उन्मुक्ति नपाउँने बताएका छन् ।

पछिल्लो समय तराईमा अपराधका घटना सुनिन थालेको भन्दै गृहमन्त्री बादलले यस विषयमा सरकार गम्भिर रहेको बताए । ‘भुमिगत समुहको नाममा अपराध गर्नेलाई मुलधारमा आउँन आग्रह गर्छांै । सरकारको आग्रह नमाने हामी कडा रुपमा अघि बढ्नेछौं ।’ उनले भने ।

गृहमन्त्री थापाले यातायात क्षेत्रको सेण्डिगेट हटाउँने निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् । सिमरा आएका गृहमन्त्री बादलले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा पाँच महिना अघि भएको कृषक दम्पती हत्याको अनुसन्धान भईरहेको र त्यसमा सरकार गम्भिर रहेको बताए । कलैया लाइभ

Back to top