×

जनकपुरधाम वैसाख १२ - प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ ।

प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ ।

उपाध्यक्षलाई मासिक २७ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समान २० हजार र सभाका सदस्यलाई ७ हजार तोकिएको छ ।

यस्तै नगरपालिका मेयरलाई ३५ हजार, उपमेयरलाई ३१ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २२ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ ।

उपमहानगरका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार तलब तोकिएको छ । यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २५ हजार र सभा सदस्यलाई ७ हजार मासिक सुविधा तोकिएको छ । भ्रमण भत्ता पनि तोकिएको छ ।

वीरगंज महानगरका मेयरले ४३ हजार ५०० तलव पाउनेछन् भने उपमेयरले ४१ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २८ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ । तर वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरपालिका कार्यलयले उपलब्ध गराउने कुनै तलव भत्ता नलिने घोषणा गर्दै महानगरको पहिलो कार्यपालिका बैठकबाट निर्णय समेत गराएका छन् ।

मेयर सरावगले तलव र अन्य सेवा सुविधाको लागि उपलब्ध गराइने रकमलाई मेयर कल्याणकारी कोषको स्थापना गरि सामाजिक कार्यमा सदुपयोग गर्ने निर्णय गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुखले ४४ हजार, उपप्रमुखले ४२ हजार मासिक तलब पाउनेछन् ।

Back to top