×

जनकपुरधाम बैशाख ११, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तथा सत्कारको तयारीमा प्रादेशिक सरकार जुटेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा प्रदेश नं। २ को अस्थायी राजधानी जनकपुरधाम समेत भ्रमणको गर्ने कार्यक्रम तय भएको हुँदा मोदीको स्वागत सत्कारको तयारीका लागि प्रदेश र स्थानीय सरकार जुटेको हो। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले समेत २ नं। प्रदेश सरकार तथा जनकपुर उप–महानगरपालिकालाई तयारी गर्न निर्देशन अनुरुप कार्य अघि बढाईएको मुख्यमन्त्री श्रोतले जनाएको छ। भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको विषयमा मंगलवार विहान जनकपुरमा प्रदेश सरकार तथा स्थानीय सरकार तथा सुरक्षा निकायबीच छलफल भएको छ। छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री राउतले बैशाखको अन्तिम साता अर्थात २८ गते ९मई ११० मा हुने भ्रमण तयारीका लागि प्रदेश सरकार र जनकपुर उप–महानगरपालिका जुटेको बताए। मुख्यमन्त्री राउतले मोदी नेपाल भ्रमणको क्रममा जनकपुरको बाह्रबिघा रङ्गभुमि मैदान वा जनकपुरको प्रदेश नं। २ को प्रादेशिक प्रहरी कार्यालय परिसरमा उत्रिन सक्ने बताए । त्यहाँ देखि मोदीको जानकी मन्दिर दर्शन, पुजापाठ तथा स्थलगत अवलोकनको गर्ने गरि कार्यक्रम समावेश गरिएको छ। उनले भने – “भारतका सम्माननीय प्रधानमन्त्री मोदी मे ११ तारिख जनकपुर आउने जानकारी हामीलाई गराइएको छ। आइतबार भारतीय राजदूतले पनि हामीलाई सो जानकारी गराएका छन् करिब करिब वहाँको भ्रमण तय भईसकेको छ, हामी उहाँको अभिनन्दन गर्नका लागि तयार छौं ।’ भ्रमणको क्रममा मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन समेत गर्ने तयारी भइरहेको छ। नागरिक अभिनन्दनका लागि जानकी मन्दिर परिसर, बाह्रबिघा रङ्गभुमि मैदान वा तीरहुतिया गाछी मध्ये एक स्थानमा गरिने तयारी भएपनि स्थानको यकिन हुन नसकेको श्रोतको भनाई छ। उनको जनकपुर भ्रमणको कार्यक्रम र तालिका तय गर्न भारतीय दूतावास नेपाल सरकार, परराष्ट्र मन्त्रालय र प्रदेश सरकारसँग निरन्तर छलफलमा जुटेको छ।

Back to top