×

वीरगंज, बैसाख ७ - चालु आर्थिक बर्षको चैत महिना सम्ममा पर्साको वीरगञ्ज सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै चिनीको आयात दोब्बर भन्दा बढी भएको छ । विशेष गरी पाकिस्तानबाट यस वर्ष सर्वाधिक बढी चिनी आयात भएको छ ।

आर्थिक वर्षको पहिलो नौं महिना, वीरगञ्ज नाका भएर ४ अर्ब ६७ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको ८३ हजार ८ सय ७५ दशमलव ७१ मेट्रिक टन चिनी आयात भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरुवालले बताउनुभयो । जसबाट १ अर्ब १ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

गत वर्ष सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ३८ हजार ६ सय ४३ दशमलव ५ मेट्रिक टन चिनी आयात भएको थियो । पाकिस्तानबाट चिनी आयात भएपछि बजारमा उपभोक्ताले सस्तो दरमा चिनी पाएका छन् ।

हाल वीरगञ्जको बजारमा चिनी प्रति किलो ६८ रुपैयाँमा उपलब्ध छ । नेशनल ट्रेडिङ् लिमिटेडले यस वर्ष आयात गरेको ५० हजार मेट्रिक टन चिनी मध्ये १० हजार मेट्रिक टन चिनी वीरगञ्ज र राजधानीको गोदाममा थन्किएको छ ।

जसमध्ये वीरगञ्जमा ८ हजार र राजधानीमा २ हजार मेट्रिक टन चिनी मौज्दात छ । कान्तिपुर

Back to top