×

वीरगंज, बैसाख ८ - अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/०७६ को बजेटमा वीरगंजलाई निराश नगर्ने आश्वासन दिएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा वीरगंजमा आयोजित राजस्व नीति तथा कार्यक्रम सम्बन्धमा छलफल तथा सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रम अर्थमन्त्री खतिवडाले मुलुकको ५४ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने आर्थिक नगरी वीरगंज र प्रदेश नं २ को विकासका लागि कटिबद्ध रहेको चर्चा गरे ।

जुन उद्योग–व्यवसायले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु¥याउँछ, त्यस्ता उद्योग–व्यवसायलाई सहयोग तथा देशको अर्थतन्त्रमा नकारात्मक योगदान पु¥याउने उद्योग–व्यवसायलाई निरुत्साहित गर्ने उनले बताए । उनले व्यवसाय करको बारेमा नीति सुधार गर्दै लाने पनि बताए । यातायातको सिन्डीकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिन्डीकेट तोड्न पनि सरकार कटिबद्ध रहेको उनले जानकारी गराए । उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँको सवालमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि तत्परता देखाउने उल्लेख गरे ।

एकीकृत जाँच चौकी पूर्णरूपमा सञ्चालन गर्न, द्रुत मार्ग, निजगढ विमानस्थल, हेटौंडा–काठमाडौं सुरुङ मार्गसँगै भारतको रक्सौलबाट काठमाडौं र काठमाडौं–रसुवा–तिब्बतसम्म रेलवे लाइन बनाएर भारतबाट नेपाल हुँदै चीन र चीनबाट नेपाल हुँदै भारतसम्म अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा नेपाल सरकारले योजना अघि बढाइरहेको उनले बताए । देश विकासको लागि ऊर्जा महŒवपूर्ण भएकोले ऊर्जामा आत्मनिर्भर भई विद्युतीय रेल सञ्चालन गरी पेट्रोलियम पदार्थमा ५० प्रतिशत खर्च घटाइ कृषिमा ५० प्रतिशत उत्पादकत्व बढाउने सरकारको आगामी बजेटका योजनाहरू हुने उनले जिकिर गरे ।

वीरगंज–पथलैया औद्योगिक कोरिडोर घोषणाको सवालमा उनले स्थानीय तह तथा प्रदेश सरकारले निर्णय गरे नेपाल सरकारले समर्थन गर्ने पनि आश्वासन दिए । बैंकले आपूmखुशी थप्ने ब्याजदरको बारेमा बोल्दै उनले राष्ट्र बैंकको निर्देशन अनुसार ऋण प्रवाह गर्न वाणिज्य बैंकहरूलाई आग्रह गरे । उनले वर्षेपिच्छे ब्याजदर बढाउने परिपाटी बन्द हुनुपर्ने पनि बताए । यदि कुनै लगानीकर्ताले विशेष आर्थिक क्षेत्र तथा औद्योगिक कोरिडर खडा गरी उद्योग स्थापना गर्न चाहन्छ भने त्यस्ता लगानीकर्तासँग नेपाल सरकारले परिपूरक साझेदारको रूपमा लगानी गर्न तयार रहेको जिकिर गरे ।

सङ्घीय सरकार र प्रदेश सरकारको करको विषयमा स्पष्ट पार्दै आन्तरिक अन्तःशुल्कमा सङ्घीय सरकार र प्रदेश सरकारको १५/१५ प्रतिशत लिने र बाँकी आयकरमा ५०/५० सङ्घ र प्रदेशले लिने बताए । त्यस्तै, प्रदेश सरकारको स्वामित्वमा आएको करको दायराभित्र प्रदेश सरकारले कानून बनाएर कर लिन हुने सुझाव दिए ।

यसैबीच, अर्थसचिव शिशिर ढुङ्गानाले सङ्घीय बजेटलाई प्रभावकारी बनाउन ७ वटै प्रदेशमा हुने सुझाव सङ्कलन कार्यक्रमको लागि वीरगंजलाई प्राथमिकता दिई वीरगंजबाट कार्यक्रम शुरु गरेको बताए । त्यसैगरी, मालवस्तु जाँचपास र मूल्याङ्कनको सवालमा सधैं उठ्ने प्रश्नका बारेमा चर्चा गर्दै मुलुककै मोडल भन्सार कार्यालयको रूपमा वीरगंजलाई बनाउन खोजिएको उनले बताए । अरू भन्सारजस्तो वीरगंजलाई बनाउने होइन कि वीरगंजजस्तो अरूलाई बनाउन कडा निर्देशन दिइएको बताए ।

व्यवसायीहरूको प्रश्नमा अन्तर्राष्ट्रिय स्तरको एचएस कोडलाई मान्यता दिइनुपर्ने सवालमा उनले सन् २०१६ को डब्लुटिओको निर्देशन अनुसार एचएस कोड लागू गरिएको र भन्सार दरबन्दी नीति प्रत्येक ४/४ वर्षमा परिमार्जन हुँदै जाने बताए । कुनै पनि देशमा सरकारले गर्ने मूल्याङ्कनलाई व्यवसायीहरूले सही छ भनी भन्दैनन्, यो असन्तुष्टि हुने कुरा नै भएको बताए । व्यवसायीले प्रस्तुत गर्ने बील, बिजकलाई तथ्यपरकरूपमा पेस गरिए भन्सारलाई सहज हुने बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी र नेपालमा कम मूल्य हुँदा इन्धन तस्करी चुनौतीपूर्ण बनेको चर्चा गरे । उनले व्यवसायीहरूले मालसामानको बिक्री वितरणमा सिन्डीकेट खडा गरी महँगी बढाएको चर्चा गर्दै त्यस्ता विकृतिलाई रोक्न सरकार कडारूपमा प्रस्तुत हुनुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका राष्ट्रिय उपाध्यक्ष किशोर प्रधानले उद्योग व्यवसाय व्यवस्थित बनाउन उद्योगी स्वयम् जिम्मेवार र पारदर्शी हुनुपर्ने तर्क दिए । उनले पहिले लाखौं मेट्रिक टन चिनी नेपाल भिœयाएर अहिले चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउनाले समस्या उत्पन्न गराएको बताए ।

अन्य वक्ताहरूले वीरगंजको पूर्वाधार, प्राविधिक कलेज, यातायात, आइसिपी, पर्यटन क्षेत्र, गौशालामा भन्सार कार्यालय, मूल्याङ्कनको विषयमा नीति परिवर्तन, ढुवानी व्यवसायीलाई सहजतालगायतका बारेमा सरकारको योजना र कार्यक्रम केन्द्रित हुनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा प्रदेश नं २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्माको सभापतित्वमा भएको कार्यक्रममा व्यवसायी अशोक बैद, जगदीश अग्रवाल, रवीन्द्र वर्णवाल, अनुराग शर्मा, सुशील मित्तल, सुबोध गुप्ता, शिव शर्मा, हरि गौतम, वीउवा सङ्घका सचिवालय सदस्य मनोज उपाध्याय, पत्रकार केसी लामिछाने, महेश दासलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवसायी ओमप्रकाश सिकरियाले वीरगंज आसपासका व्यवसायीको समस्या बोध गराउने कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतीक

Back to top