×

वीरगंज बैसाख ६ - बाराको महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिहरुले आगलागी पिडित एक दलित युवतीको आज आफनो व्यक्तिगत खर्चबाट विवाह सम्पन्न गराएका छन । महागढीमाई नगरपालिका ५ कवहीजब्दीका रामविश्वास रामकी १९ वर्षिय छोरी रेखा कुमारी रामको विवाह कलैया उपमहानगरपालिका १६ का २१ वर्षीय शिवपूजन राम संग सामाजिक परम्परा अनुसार सम्पन्न भएको हो ।

गएको वैशाख १ गते भएको आगलगीमा घर सहित विवाहका लागि जोहो गरिएको लताकपडा, नगद, खाद्यान्न सामाग्रीहरु जलेर नष्ट भएपछि विवाह कसरी गराउने चिन्तामा डुबेका राम परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत खर्चबाट विवाह गराई सहयोग गरेका हुन ।

नगर प्रमुख उपेन्द्र यादवको अगुवाईमा जनप्रतिनिधिहरुले विवाहको सम्पूर्ण खर्च व्यहोरेको नगरपालिकाका प्रेस सल्लाहकार मुकेश यादवले जानकारी गराए ।आफनो व्यक्तिगत खर्चबाट विवाहको लागि आवश्यक खाना, टेन्ट, लताकपडा, गरगहना, घडी, साईकल, बेड सेट सहित करिब चार÷पांच लाखको लागतमा नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरुले आज दलित युवतीको विवाह धुमधामसंग सम्पन्न गराएका हुन ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आगलगी पिडितको विवाह गराउन पाउदा आफनै छोरीको नै विवाह गराएको महसुस आफूले गरेको बताए । आगलागीका कारण घर सहित सबैथोक जलेर खरानी भएपछि छोरीको विवाह कसरी गराउने चिन्तामा राम परिवार डुबेको थियो ।

जनप्रतिनिधिहरुले जन्तीको भब्य रुपमा स्वागत गरेका थिए । आगलागीका कारण छोरीको विवाह नै गर्न नसक्ने अवस्थामा पुगेको बेला नगर प्रमुख यादव सहित जनप्रतिनिधिहरुले आफनो छोरीको विवाह सम्पन्न गराई गरेको पुण्य आफूले जीवनमा कहिल्यै नविर्सिने बेहुलीका बुबा रामविश्वास रामले बताउनु भयो ।

विवाहको लगन गांठो ठिक पारी तयारी गरेको अवस्थामा आगलगीबाट सबै थोक नष्ट भई विवाह नै नहुने अवस्थामा पुगेको समयमा महागढीमाई नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत खर्चबाट विवाह सम्पन्न गराएको कार्यले समाजलाई एक ढिक्कामा उभ्याएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानान्धरले बताए ।

वैवाहिक कार्यक्रममा नगर प्रमुख यादव सहित उपप्रमुख तारादेवी कानु, बाराका प्रमुख जिल्ला अधिकारी मानान्धर, प्रहरी उपरिक्षक राजकुमार वैदवार, सशस्त्र प्रहरी उपरिक्षक बेनु प्रसाद पाठक, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख उतम खनाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमिता बज्राचार्य, नगरपालिकाका वडाका वडा अध्यक्षहरु, समाजसेवी, स्थानीय बासिन्दाहको सहभागिता रहेको थियो ।

Back to top