×

काठमाडौँ, बैशाख ४ - नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता नहुने भएको छ । आज (मंगलबार) बिहान पार्टी एकताका विवादित विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले ९ गते एकता नहुने भएको हो ।

बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संयोजन समितिको बैठक बसेको थियो । प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि एकता संयोजन समितिले कार्यदलले बुझाएको प्रतिवेदन र दिएका सुझाव ग्रहणमात्रै गरेको थियो ।

१२ दिनपछि बसेको बैठकले एकता प्रक्रियामा सुल्झन बाँकी विषय टुंग्याउने अपेक्षा गरिएको थियो ।

Back to top