×

वीरगंज बैशाख ३ - वीरगंज भन्सार स्थित रहेको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरीले शुक्रबार एक ट्याङ्कर चालकमाथि दुर्व्यवहार गरे पछि ट्याङ्कर चालकहरु आन्दोलित भएका छन् ।

गत शुक्रबार ना ३ ख ९६३९ टयांकर इन्धन लिन जाने क्रममा वीरगन्ज भन्सारको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरीले चालक चितवन निवासी संतोष प्रसाईलाई कुटपिट गरी दुर्व्यहार गरेको भन्दै त्यसको विरोधमा ट्याङ्कर चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरुको आन्दोलनका कारण इन्धन ढुवानी ठप्प भएको छ । ट्याङ्कर चालकहरु इन्धन ढुवानी रोकेर आन्दोलनमा उत्रिएपछि इन्धन आउन बन्द हुँदा वीरगंज पेट्रोल, डिजल लगायतका इन्धनहरुको अभाव भएको छ ।

ट्याङ्कर चालकहरुले आजदेखि इन्धन ढुवानी ठप्प पारेर नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगंजको मूलगेटमा धर्नामा बसेका छन् । शुक्रबार चालक संतोषलाई इनर्वामा कार्यरत प्रहरीले सडकमा जाम गरेको भन्दै भन्सार नजिक कुटपिट गरेर नियन्त्रण लिए देखिनै ट्याङ्कर चालकहरुले आन्दोलन शुरु गरेको र शनिबार र आईतबार दुईदिन विदा भएर इन्धन आउन नपाउँदा बजारमा इन्धनको अभाव भएको हो ।

इन्धन लोड गर्न जाँदा इनर्वा प्रहरी चौकीले कुटपिट गरेर नियन्त्रणमा लिएको भन्दै विरोधमा धनार्मा बसेकाले आज कुनैपनि ट्याङ्करहरु इन्धन लोड गर्न नगएको नेपाल ट्याङ्कर चालक संघका अध्यक्ष एवं नारायणी यातायात व्यावासायी संघका उपाध्यक्ष विनोद मानन्धरले जानकारी दिए । बस, ट्रकहरुसँग पैसा लिएर छोड्ने गरेको प्रहरीले ट्याङ्करसँग जहिले पनि निहुँ खोज्ने गरेकोले समस्याको समाधान नभए सम्म र दोषी प्रहरीलाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Back to top