×

वीरगन्ज २४ चैत वीरगन्ज महानगरपालिका-३० लालपर्सामा १२ वर्षीया एक बालिका बलात्कृत भएको घटना मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको छ।चैत १२ गते भएको घटनालाई प्रहरी चौकी परिसरमै स्थानीय जनप्रतिनिधी र प्रहरीकै उपस्थितिमापन्चायती(छलफल) गरी मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको हो। लालपर्साका २१ वर्षीय मन्दिप यादवले बालिकालाई रातको समयमा ललाई फकाई गरेर गाउँ नजिककै मकैबारीमा लगेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाका बुबाले फेला पारेका थिए। बालिकाका बुबा मकैबारीमा पुगे लगत्तै मन्दिप मोटरसाइकल छाडेर फरार भएका थिए। बालिका बलात्कारको हल्ला गाउँमा फैलिएपछि पीडित बालिकाका अभिभावक र आरोपित युवक मन्दिपका अभिभावकबीच झगडा समेत भएको थियो।

पीडित बालिकाका अभिभावकले चैत १३ गते बिहान प्रहरी चौकीमा घटनाका बारेमा उजुरी दिएका थिए। पीडित पक्षको उजुरीपछि प्रहरी चौकी परिसरमा घटनालाई मिलापत्र गराउनका लागि पन्चायती (छलफल) भएको थियो।छलफलमा आरोपित युवक मन्दिप , उनका अभिभावक , प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक चन्देश्वर सिंह , वडा नम्बर ३० का वडाअध्यक्ष अमानत मियाँ अन्सारी, पीडित बालिकाका अभिभावक र गाउँका अगुवाहरुको सहभागिता थियो।

उक्त छलफलमा आरोपित मन्दिप पक्ष हाबी भएको र वडाअध्यक्ष अन्सारीले पनि गाउँमै छलफल गरेर मिलापत्र गराउने भनेर दबाब दिएपछि पीडित बालिकाका अभिभावक र आफन्तहरु घर फर्किएका थिए।वडा अध्यक्ष र पीडक पक्षको दबाब र धम्कीका कारण पीडितका अभिभावक घटनाबारे बोल्न चाहेका छैनन्।वडा अध्यक्ष अन्सारीले प्रहरी चौकीमा भएको छलफलमा आफु पनि सहभागी रहेको र छलफलमा दुवै पक्ष आपसमा मिल्छौ भनेर सहमति गरेर घर फर्किएको बताउँछन् । ‘छोरीको अपहरण गरेको भनेर बालिकाका बुबाले प्रहरी चौकीमा उजुरी दिएका थिए,उनले भने,‘ प्रहरी चौकीमा भएको छलफलमा दुवै जना मिल्छौ भनेर सहमति गरे ,यो भन्दा बढी कुरा मलाइ थाहा छैन।’

प्रहरी चौकी परवानीपुरका इन्चार्ज सिंहले छलफलमा वडा अध्यक्ष अन्सारीसँग आफु पनि सहभागी रहेको स्वीकार गरको छन् । बालिकाका अभिभावकले आफ्नो छोरीसँग जबरजस्ती करणी गरिएको भन्ने उजुरी दिएपनि छलफलमा मिलापत्रको कुनै लिखित कागजात नगराइएको उनले दाबी गरे।छलफलमा मैले यस्तो जघन्य अपराधको घटना हो मिलापत्र हुन सक्दैन भनेर भने,तर पीडक र पीडित पक्षका अभिभावकले केटाकेटीको कुरा हो छोडिदिनुस्, पछि केटीको बिहे पनि गर्नुछ,इज्जत जान्छ भनेर केटा केटी दुवैलाई तिनका अभिभावकहरुले आ–आफनो जिम्मामा लिएर गए’,प्रहरी नायव निरीक्षक सिंहले भने ,‘तर मैले मिलापत्रका लागि कुनै दबाब दिएको छैन।’

Back to top