×

गाईघाट चैत २० उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ। तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको हो। गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माण कार्य औपचारिक रुपमा शुरु भएको हो। पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रे कार्य शुरु भएको गाईघाट–दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताए। नेपाल सरकार सडक विभागको रु ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक सो सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने कार्य औपचारिक रुपमा शुरु भएको हो। सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी काम थालेको कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले जानकारी दिए। अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रे गर्ने कार्य अभियान शुरु भएको पनि गाईघाटदिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ। तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट–दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि उक्त सडक निर्माण कार्य शुरु भएको थियो। अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुननसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन। यस्तै, सडकखण्डअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायी बताउँछन्। ढिलै भए पनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा सो सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रे औपचारिक कार्य शुरु भएको हो।रासस

Back to top