×

पोखरा,चैत्र १४ – इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ खेलका लागि खेलाडीहरुको छनौट पोखरामा सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी छनौट गरिएको हो । नेपालले एशियाली खेलको प्याराग्लाइडिङ तर्फ बाट दुइ वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव रावतले बताए । बुधबार भएको छनौटमा इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्रीमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । सहभागी २१ खेलाडी मध्ये १० जनाले एशियाली खेलमा सहभागिता जनाउन पाउनेछन । बुधबार छनौट भएका खेलाडीहरु टिम एकुरेसी र इन्डिभिजुअल एकुरेसी तर्फ १० र १० जना क्रस कन्ट्रीका गरि २० जना रहेका छन । ति मध्ये दुवै इभेन्टमा उनीहरुको परफरमेन्सका आधारमा अन्तिम १० जना छनौट गरिने महासचिब रावतले बताए ।

बुधबार टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट भएका छन । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनाुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन ।

पोखरामा एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा धेरैमा उत्साह छाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराइले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली शाहसिक खेलले नयाँ मोड लिएको बताए । “हामी निकै उत्साहित छौ” उनले भने–“पर्यटन संगै यो खेल नयाँ सोचका साथ अगाडी बढने र राज्यको चासो समेत यसमा रहने छ,” उनले थपे– “प्रदेशको समृद्धीका लागि पनि यो खेलको बिकास र संरक्षण आवश्यक छ ।”नेपालको पोखरा, धरान, स्याङ्गजा र सुर्खेतमा ब्यबसायिक हिसाबले प्याराग्लाइडिङ खेल्ने गरिए पनि पोखरा विश्वकै ‘टप टेन’ भित्र पर्दछ । ना का अध्यक्ष भट्टराइले नेपालको पर्यटनले नेपालमा आर्थिक समृद्धी ल्याउन शाहसिक खेलकुदका गतिविधी महत्वपूर्ण हुने तथा पर्यटकहरुको बसाइ लम्ब्याउन पनि प्याराग्लाइडिङले भूमिका खेल्ने बताए ।

प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” सुनुवार नेपालको टिम क्याप्टेन समेत हुन भने बिमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहने छन । नेपालमा टिम क्रस कन्ट्रीमा विश्वमा ‘टप टेन’ भित्र नेपालमा ६ जना खेलाडी समेत रहेकाले एशियाडमा प्याराग्लाइडिङ लाई चासोको रुपमा हेरिएको छ । एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन भने नेपालमा ५ सय जना खेलाडीहरु आवद्ध रहेको संघका सचिव इन्द्र भण्डारीले बताए । उनका अनुसार ति मध्ये २ सय ५० जना पूर्ण रुपमा ब्यवसायिक नै रहेका छन । एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने भण्डारीले जानकारी दिए ।हेडलाईन डटकम

Back to top