×

यात्रा संबाददाता ठोरी (पर्सा) पर्साको ठोरी गाउँपालिकाको कार्यालयमा लागेको तालाबन्दी ५१ औँ दिनपछि बुधबारबाट खुलेको छ । गत माघ १५ गतेको गाउँ सभाले सुवर्णपुरमा रहेको ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सार्ने र १५ शैयाको अस्पताल ठोरी गाउँपालिका–२ मा स्थापना गर्ने निर्णय गरेपछि त्यही दिनदेखि संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएका थिए । ५१ दिन सम्म लागेको ताला बुधबार बिहान १० बजे खोलिदिएको हो ।

संघर्ष समितिका संयोजक जरीलाल थिङ लामाले मूल गेटमा लगाएको ताला खोलिदिएको सुवर्णपुर चौकीका प्रहरी सहायक निरीक्षक तुलसी अधिकारीले जानकारी दिए । कार्यालयमा तालावन्दी गरी बन्द हड्ताल लगायतका कार्यक्रम गर्दै आइरहेको सुवर्णपुर संघर्ष समितिले सरकारले तोकेको सेवा केन्द्रलाई स्थानीय सरकारले घ्याङडाडामा अस्थायी कार्यालय स्थापना गरी काम गर्न खोजेर अलोकतान्त्रिक निर्णय गरेको उक्त निर्णय प्रति खेद व्यक्त गरेका छन् । लामो समयमा सम्म गाउँपालिकाको कार्यालयमा ताला लागेपछि गाउँपालिकाको कार्यसम्पादनमा समस्या उत्पन्न भएको थियो ।

तालाबन्दीले आर्थिक वर्ष २०७४र०७५ का लागि विनियोजित बजेट कार्यान्वयन समेन हुन नसकेर फ्रिज हुने अवस्था सृजना भएको भन्दै चौतर्फी चिन्ता हुन थालेपछि संघर्ष समिति आफैले तालाबन्दी खोलेको हो । गाउँपालिकाको कार्यालयमा लगाएको तालावन्दी हटेपछि विकास निर्माणका काम अघि बढ्ने विश्वास स्थानीयले लिएका छन् । संघर्ष समितिले कार्यालयमा लगाएको तालावन्दी हटाउने जनाए पनि अन्य आन्दोलनको कार्यक्रमलाई जारी राख्ने भएका छन् ।

उनीहरुले वीरगंज–ठोरी सडकखण्डमा सवारीका साधन भने सञ्चालनमा आउन नदिने जनाएका छन् । यात्रुवाहक बस नचल्दा सर्वसाधरणले हैरानी खेप्नु पर्ने भएका छन् । संघर्ष समितिले चैत ८ गते देखि सञ्चालन हुने एसइइ परीक्षामा सहभागी हुने बिद्यार्थी तथा परीक्षामा खटिने शिक्षकहरुलाई दुई पाङ्ग्रे सवारीका साधन मार्फत सुवर्णपुर भएर आवतजावत गर्न दिने जनाएको छ ।

सुवर्णपुरवासीको अधिकार स्थापितका लागि कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्दै आइरहेको भएपनि आन्दोलनको ५१ दिन पुग्दा समेत कुनै उपलब्धी नभएपछि सुवर्णपुरवासीले आफै तालाबन्दी खोलेका हुन् । यद्यपि सुवर्णपुरवासीले भने विकास विरोधीको संज्ञा दिने चलखेल हुन थालेपछि तालावन्दी खोलिएको बताएका छन् ।

कार्यालयको तालबन्दी खोलिए पनि सार्वजनिक यातायातका साधन चल्न नदिने भएपछि कार्यालयमा जाने आउने कर्मचारीहरुको सुरक्षा जोखिम रहेको अझै काम गर्ने वातावरण भने नबनेको ठोरी गाउँपालिकाका पदाधिकारीहरुको भनाई छ । सार्वजनिक यातायातका साधनहरु चल्न नदिने भएपछि तालाबन्दी खोल्नुको कुनै अर्थ नभएको उनीहरुको भनाई छ ।

यसैबीच ठोरी गाउँपालिकाकै सामुदायिक विद्यालयका शिक्षकहरुले गर्दै आएको आन्दोलन पनि स्थगित भएको छ । शिक्षकहरुले आउँदो शुक्रबार सम्मका लागि आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेका हुन् । तलबभत्ता लगायत विद्यालयको अन्य अनुदान रकम निकासा भैसकेको भन्दै आन्दोलनको कार्यक्रम स्थगित गर्न गाँउपालिका कार्यालयले आग्रह गरेसँगै शिक्षकहरुले शुक्रबार सम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगित भएसँगै विद्यालयको पठनपाठन नियमित सञ्चालन भएको आन्दोलनरत शिक्षक संगठनका पदाधिकारीहरुले जनाएका छन् ।तलबभत्ता लगायत अन्य अनुदानका सम्पुर्ण रकम कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगंजमा निकासा भैसकेको ठोरी गाँउपालिकाका अध्यक्ष पीएल श्रेष्ठले जानकारी गराएकाले आन्दोलनको कार्यक्रम स्थगित गरिएको बताएका छन् । ठोरीका आन्दोलनरत शिक्षकहरुले यसअघि आइतबार र सोमबार दुई दिन आधादिन मात्रै पठन पाठन गराएका थिए ।

तलवभत्ता लगायतका माग राख्दै गत फागुन २ गतदेखि शिक्षक महासघमा आवद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनहरु आन्दोलित थिए । ठोरी गाउँपालिकामा ५ वटा मावि सहित २३ वटा सामूदायिक विद्यालयहरु रहेका छन् ।

Back to top