×

वीरगन्ज २ चैत पर्साको बहुदरमाइ नगरपालिका –८ रामनगरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयको भवन पाँच वर्षदेखि कब्जा गरी निजी विद्यालय सञ्चालन गरिएको छ।देवनन्दन देवराज माध्यमिक विद्यालयसँग टासिएर रहेको सिंचाइ कार्यालयको १० कोठे भवनमा २०६९ सालदेखि श्री दुर्गा एकेडेमी सञ्चालन गरिएको हो।

पीजीदेखि कक्षा तीनसम्मको पठन पाठन हुँदै आएको उक्त निजी विद्यालयमा एक सय ९२ जना विद्यार्थी छन्। विद्यालयले पीजी र नर्सरीका विद्यार्थीबाट तीन सय , एल केजीका विद्यार्थीबाट तीन सय २५ , यूएकेजीका विद्यार्थीबाट तीन सय ५० , कक्षा एक विद्यार्थीबाट तीन सय ७५ , दुई कक्षाबाट चार सय र कक्षा तीनका विद्याथीबाट चार सय २५ रुपैया मासिक शुल्क लिदै आएको छ।

उक्त विद्यालय अनमति बिना सञ्चालन हुँदै आएको छ। दुर्गा एकेडेमी नामको कुनै पनि निजी विद्यालयले अनुमति पत्र नलिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले बताए। नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रामनगरीमा रहेको सिंचाइ कार्यालयको पुरानो भवनमा निजी विद्यालय सञ्चालनका लागि स्विकृती नदिएको बताए।

उनले आफ्नो पुरानो भवनमा निजी विद्यालय सञ्चालन भएको जानकारी नभएको बताए। उनले भने ,‘ हामीले कसैलाइ पनि भवन प्रयोगका लागि दिन अनुमति दिएका छैनौ , यो त मैले नयाँ खबर सुन्दैछु , अब यस बारेमा बुझेर भवन खाली गराउने प्रकृया थाल्छु।’

दुर्गा एकेडेमीका प्रिन्सिपल रञ्जनकुमार शर्माले वर्षौदेखि प्रयोग विहीन अवस्थामा रहेको सिचाइ कार्यालयको भवनका १० वटा कोठा रंगरोगन गरी विद्यालय सञ्चालन गरेको बताए। ‘यो भवन प्रयोगमा थिएन , जीर्ण पनि भइसकेको थियो', प्रिन्सिपल शर्माले भने ,‘ त्यसैले सामान्य रंगरोगन हामी आफैले गरेर अहिले बोर्डिङ स्कुल चलाइरहेका छौ।’उनले विद्यालयको दर्ता प्रकृया अगाडि बढिरहेको जानकारी दिए ।

Back to top