×

दोेश्रो विश्व युद्धपछि संसारका धेरै मुलुकहरुले विकासितामा कायापलट गरे । त्यतिबेला नेपालभन्दा गरिब आर्थिक स्थिति रहेका देशहरु अहिले संसारका बिकसित मुलुकहरुको संगठन जी २० का सदस्य छन् । नेपाललाई जलमा बिश्वको दोश्रो धनी देश, बुद्धको जन्मभुमी, सगरमाथाको देश, प्राकृतिक सम्पदाले भरिपुर्ण देश, प्रकृतिक सौन्दर्यको क्षेत्रमा विश्वप्रशिद्ध भनेर गर्व गरिरहेका हामीलाई त्यो कटु सत्यले आज जिस्क्याईरहेको जस्तो लाग्छ । नेपालीहरुले मुक्ति, स्वतन्त्रता, प्रजातन्त्र, बहुदलिय ब्यवस्था, लोकतन्त्र गणतन्त्र जस्ता शब्दावलीमा २००४ सालदेखी नै धेरै रगत बगाई सके । तर वास्तविक लडाई को संग थियो शहिदहरुको ? कसका बिरुद्धमा ज्यानको आहुति दिए? यी प्रश्नहरु बलिदानी पछि निरुत्तर बन्दै गए ।

२०४६ सालमा तत्कालिन बाममोर्चाका नेता मदन भण्डारीले भनेका थिए ः “कम्युनिष्टहरुले युद्ध, सघर्ष आदिको सुरुवात गर्न पहिला उसको वास्तविक दुस्मन पहिचान गर्नुपर्छ ।” नेपालका कम्युनिष्टहरुले त्यही कुराको पहिचान गर्न नसकेर अनाहकमा हजारौं नेपालीहरु उद्धेश्य बिहिन मृत्युका शिकार बन्न बाध्य भए । यति सम्मकी पुरै १० वर्ष जो जसका बिरुद्धमा उत्रिए, केही समय पछि ती नै सत्ता सञ्चालनका पृय सारथी भएको उल्टो कथा पनि शहिद परिवारले चुपचाप हेरीरहे । आखिर अन्तिम बिन्दुमा आएर त्यही एउटा प्राप्ति रहेछ, संबिधान सभा । आखिर त्यो त २००७ सालमै बी पी कोईरालाले उठाएका थिए, २०४६ मा मदन भण्डारीले उठाएका थिए । २०५६ साल सम्म आईपुग्दासम्म नेपालको बिकास निर्माणको मुख सम्म देख्न नपाएका नेपालीहरु तत्कालिन नेपाली काँग्रेस, राप्रपा लगायतका नेताहरुको भष्टाचार र अराजकताबाट आजित भै सकेका थिए । त्यसपछि उनीहरुबाट बिकास निर्माणको सम्भव हुने नदेखेपछि कम्युनिष्ट राजनिति प्रति जनताको मोह बढ्दै गयो । प्रजातन्त्रका लागि हतियार उठाएको भन्ने काँग्रेस, पञ्चायतका बिरुद्ध हतियार उठाएको भन्ने एमाले र साम्यबादका लागि हतियार उठाएको भन्ने माओबादीहरु अहिले कहाँ छन् ? कुन उद्धेश्यमा छन् ? कुन शिद्धान्तमा छन् ? यदि उनीहरुले अहिले अवलम्वन गरेको चरित्र र शिद्धान्त नै ठीक छ भनेर नेपालीहरुलाई कन्मिन्स गर्न चाहान्छन भने आखिर हजारौं नेपालीको ज्यान चाहीं किन ब्यर्थै गयो ? यी प्रश्नको चित्तबुझ्ने जवाफ दिन नेपाली राजनितिक दलहरुलाई गाह्रो परेको छ । यसको अर्थ यो होईन की राजनितिक दलहरु अहिले नराम्रो शिद्धान्त अनुशरण गरेका छन, तर बिगतलाई हेरेर दशवर्ष पछिको अवस्थाको पनि मुल्याङ्कन गर्न नसक्ने अदुरदर्शी नेतृत्वका कारण हजारौं नेपालीहरुले ब्यर्थमा ज्यान फालेको यथार्थ चाहीं उनीहरुले चाहेर पनि लुकाउन सक्दैनन् ।

२०६४ सालको संबिधान सभाको निर्वाचनमा भारी मत प्राप्त गरेको तत्कालिन माओबादीले ३ पटक सत्ताको नेतृत्व गरिसकेको छ । ०६४ सालमा नेपालीले ठुलो आशाबादी भएर माओवादीलाई सरकार जिम्मा लगाए । तर प्रचण्डको घमण्ड र अपरिपक्क निर्णयको कारण सरकार टिक्न सकेन । जुन कुरा प्रचण्डले आफ्नो अन्तरवार्ताको क्रममा आफैँ स्वीकार पनि गरेका छन् । त्यसपछि नेपालको समृद्धि र बिकासको आशा माओबादीकै अर्का हस्ती बाबुराम बन्न पुगे । अर्थमन्त्रीमा राम्रो छवी बनाएका बाबुराम पनि सन्तुलित राजनितिका दक्ष नहुँदा कार्यकालको अन्त्यमा एक्लो बृहस्पति हुनु पर्यो । आशलाग्दा बामपंथी नेताहरु एकपछि अर्को गर्दै असफल हुँदै गएपछि बिकास निर्माणको आशा हराउँदै गयो र नेपाली युवाहरु बिदेशिने संख्याले इतिहास नै कायम गर्यो । अन्ततः नेपालीहरुको अन्तिम आशाको रुपामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखा परे । पहिलो प्रधानमन्त्री कालमा देशमा बिद्यमान रहेको भारतीय नाकाबन्दी बिरुद्ध डटेर सामना गरेका ओली ९ महिनामै राजिनामा दिन बाध्य भएपनि स्वाभिमानको उच्चाईमा पुग्न सफल भए । २०५९ सालमा प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुने बिषयले बनेको उनको बिवादित छविपनि त्यो राष्ट्रियताको अडानले चन्द्रमाकोे दाग मेटिए झै मेटिएर गयो । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा बाट अत्याधिक मतले बिजयी भएको ओलीले प्रतिनिधिसमा को निर्वाचनमा देशकै सवैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिनिधको मेडल पाउनुले पनि चन्द्रमाको दाग मेटिएको प्रमाणित गर्न सहयोग गर्यो । आफ्नो शरीर भित्रको मृगौला पनि अर्काको लगाएका ओली आज सम्पुर्ण नेपालको बिकास गर्न सक्ने क्षमता भएका नेताको उपमा बोकेर सिंहदरबारको बागडोर सम्हाल्न पुगेका छन् । माओबादी संग पार्टी एकीकरण गरेर नेपालीका आश मरेका सपनाहरु फेरी ब्युँझाउने अभियानमा लागि परेको भन्दै आएका छन् ।

२००७ सालमै संबिधान सभाको निर्वाचन भएको भए नेपाल आज साँच्चै बिकसित र समृद्ध हुन्थ्यो होला त ? आखिर संबिधान सभाबाट संबिधान बनेपछि मात्र बिकासक्रम अघि बढ्ने थियो भने बी पी लाई सम्पुर्ण नेपाली जनताले किन साथ दिएनन् त्यतिबेला ? जे होस अशिक्षा, अबुझपना, तत्कालिन सरकारको क्रुर दवाव, जे पनि कारण हुन सक्थ्यो त्यतिबेला । त्यसकारण समयलाई समयमै चिन्न नसक्दा नेपालको बिकास र समृद्धि ७० बर्ष पछि सरेको देखिन्छ । यसर्थ पार्टी जे जे भएपनि, शिद्धान्त जता जता फर्किएको भएपनि, अन्ततः सवैले चाहेको बिकास नै हो, समृद्धि नै हो, समुन्नति नै हो । जुन बाटो हिँडेपनि पुग्ने ठाउँ एकै भएको र करीब ७५ वर्ष देखीको सम्पुर्ण नेपालीको अन्तिम आशा ओली सरकार नै देखिएको छ । नेपालीको यो जिजीबिषा पुरा गर्न ओली सरकार सफल हुनै पर्छ ।

Back to top