राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ

1720

वीरगन्ज १२ फागुन प्रदेश नम्बर २ को राजधानीलाई सिंगार्न प्रदेश सरकारले विभिन्न निकायहरुसित परामर्श सुरु गरेको छ । भौतिक, पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले जनकपुरधाममा आउने आन्तरिक तथा वाह्य पर्यटक एवं स्थानीय बासिन्दाहरुले प्रदेश राजधानीमा रहेको अनुभूति गराउन तत्काल गरिने कार्यहरुबारे सुझाव संकलन सुरु गरेका छन् । मन्त्री सोनलले आफ्नै मन्त्रालयमा स्थानीय सञ्चारकर्मीहरुसित प्रदेशको राजधानीलाई व्यवस्थित र सुन्दर बनाउन गरिने कामहरुको प्राथमिकता निर्धारण गरी अगाडी बढने बताए । प्रदेशमा हाल थुप्रै राजमार्गहरु निर्माणाधिन रहेकाले त्यसको अनुगमन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा ध्यान दिन सञ्चारकर्मीहरुले मन्त्री सोनलको ध्यानाकर्षण गराएका थिए । निर्माणाधिन योजनाहरु समयमै सम्पन्न गर्न र गुणस्तरमा विशेष ध्यान दिन मन्त्रीलाई सुझाव दिइएको थियो । उनले प्रदेश नम्बर २ मा झण्डै ५५ लाख जनसंख्या रहेकाले संघिय सरकारबाट त्यो अनुपातमा बजेट आउनु पर्नेमा मन्त्री सोनलले जोडदिदै भने, प्रदेशगत रुपमा समान ढंगले राज्यको साधनस्रोतको विभाजनगर्दा प्रदेश नम्बर २ सित न्याय हुने छैन् ।’ प्रदेश सरकारले ऐन, कानुनहरुको निर्माण, मन्त्रालयहरुको व्यवस्थापन, कार्यालयहरुसित समन्वय लगायतका क्षेत्रमा काम थालेको उनले जनाए ।‘संघियताको सफलता असफलता प्रदेश नम्बर २ माथि निर्भर छ ’मन्त्री सोनलले भने, यसलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ । चुरे क्षेत्रको दोहन रोक्न र खाली जग्गामा वन लगाउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने र रेलवे, सडक लगायतका निर्माण कार्यहरु निर्धारित समयावधि भित्र नै सम्पन्न गराउन सरकारले पहल गर्नुपर्ने सञ्चारकर्मीहरुको सुझाव थियो । सरकारले सञ्चार माध्यमहरुका लागि विशेष नीतिहरु बनाउने लगायतका कार्यहरु गर्नुपर्ने पत्रकारहरुको कथन थियो ।मन्त्री सोनलले आन्दोलनबाट प्राप्त उपलब्धि प्रदेश सरकार भएकाले मधेशको चाहना अनुसारको कामहरु गर्ने बताए । जानकी मन्दिरलाई विश्व सम्पदा सुचीमा राख्ने, सिम्रौनगढ र सलहेस फुलवारी लगायतका ऐतिहासिक धरोहरहरुलाई पर्यटकीय केन्द्र बनाउन सरकार गंभीर रहेको जनाए । प्रदेश-२ मा केन्द्रीय बजेटबाट हाल सञ्चालित विभिन्न ठूलठूला परियोजनाको निगरानी प्रदेश सरकारले गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग भेटघाट गरी आफ्नो मन्त्रालयबाट तत्कालै प्राथमिकताका साथ विकास परियोजनाको अनुगमनको कार्य अघि बढाउने जानकारी गराए।यस प्रदेशमा हाल सञ्चालित हुलाकी राजमार्गको काम, सहरी सडक विस्तारको काम, रेल्वे निर्माणलगायतका कामको अवस्था के कस्तो रहेको बारे बुझ्न मन्त्रालयबाट तत्काल अनुगमनको कार्य अघि बढाउने तयारीमा छौं मन्त्री सोनलले भने। हालको अवस्थामा प्रदेश सरकारसँग कुनै योजना र बजेट नभएपनि प्रदेशमा सञ्चालित योजनाहरुलाईनै गुणस्तरीय र सिघ्र रुपमा सम्पन्न गराउनु हाम्रो मन्त्रालयको प्रमुख प्राथमिकता हुनेछ।पछिल्लो समय केन्द्रबाट थुप्रै विकास निर्माणका कार्य सञ्चालन भएपनि प्रभावकारी अनुगमन नहुँदा अधिकांश गुणस्तरहीन र निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै सम्पन्न हुन नसकेको गुनासो स्थानीय स्तरबाट निकै आएको अवस्थामा मन्त्रालयले सर्वप्रथम भइरहेका कार्यलाई दु्रत गतिमा सञ्चालन गराउने छौं सोनलले भने।प्रदेश सरकारसँग खासै अधिकार नरहेको भनि चौतर्फी व्याख्या भइरहेपनि संविधानमा २१ वटा बुँदामा प्रदेश सरकारलाई दिइएको अधिकारलाई पनि राम्ररी व्यवस्थापन गर्न सके सक्षम प्रदेश निर्माण गर्न सकिन्छ, मन्त्री सोनलले भने। हामी सर्वप्रथम आफुसँग भएका स्रोत साधनको व्यवस्थापनमा लाग्ने छौं।मन्त्री सोनलले भने, ‘प्रदेशसभाबाट स्थायी राजधानी घोषणा नभएसम्म प्रदेश २ को लागि जनकपुरनै अस्थायी राजधानी भएको हुनाले जनकपुर सहित समग्र प्रदेशलाई भव्य र सभ्य बनाउने नीतिका साथ सरकार अघि बढ्ने छ। प्रदेश सरकारलाई काम गर्नका लागि हालसम्म एउटा पनि कानुन नरहेको अवस्थामा शुन्य देखि सुरुवात गर्नुपर्ने भएकोले सबैको सुझाव र सहयोगको अपेक्षा रहेको छ सोनलले थपे।जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुलाई सरकारको प्राथमिकतामा राखिनुका साथै गढीमाई, सलहेस फूलबारी, सिम्रौनगढ सहितका धार्मिक पर्यटकीय स्थलहरुको सम्वद्र्धनलाई समेत विशेष जोडका साथ अघि बढाईने योजना रहेको मन्त्री सोनलले जानकारी गराएका छन्।