×

हेम चापागाई रपर्सा (बिजयबस्ती) माघ–२४ ठोरी गाउँपालिकाको गत माघ १५ गतेको गाउँपालिका परिषदका निर्णयहरुप्रति कतै बिरोध र कतै बिरोध बिरुद्ध हुनथालेको प्रदर्शनले सर्वसाधारण गाउँबासीहरु मर्कामा परेका छन् । दैनिक जस्तो हुनेगरेका बिरोध प्रदर्शन र बिरोध बिरुद्धका प्रदर्शनहरुले स्कुले बालबालिका,महिला,बृद्धबृद्धा बिशेष चपेटामा परेका छन् । ठोरी गाउँपालिका र आन्दोलनरत पक्ष सुवर्णपुरबीच माघ २३ गते एकचरण बार्ता भएपनि बार्ताले खास निष्कर्श निकाल्न नसकेकोले पनि सर्वसाधारणले सास्ती खेप्नु परेको छ । यतिबेला स्थानीयबासी भने समस्याको चाँडो समाधान होस भनेर बसेका छन् भने बिरोध प्रदर्शन र प्रदर्शन बिरुद्ध प्रदर्शन जारी रहेको छ । यसैबीच माघ २४ गते पनि ठोरी गाउँपालिकाको रामनगर, ब्रम्हनगर, मिलचोक र सुबर्णपुरमा बिभिन्न प्रदर्शनहरु भएका छन् ।

रामनगरमा बन्द बिरुद्ध रु्याली प्रदर्शन

ठोरी गाउँपालिकाको वडा नम्बर ३ रामनगरका स्थानीयहरुले बन्दहडताल बिरुद्ध प्रदर्शन गरेका छन् । “बन्दहडताल फिर्ता गर” , “सर्वसाधारणलाई दुख दिन पाईदैन” लगायतका प्लेकार्ड बोकेर उनीहरुले रामनगर परिक्रमा गरेका छन् । जनतालाई दुख दिएर गरिएको बन्द हडताललाई फिर्ता लिएर बार्ताद्धारा समस्याको समाधानको लागी दुवै पक्ष अघिबढ्नुपर्ने सुझाव सहित र्यालीको आयोजना गरेको स्थानीय बिर बहादुर तामाङले बताउनु भयो ।

ब्रम्हनगरमा नाङ्लो कुचो सहित बिरोध प्रदर्शन

ठोरी ३ कै ब्रम्हनगरमा भने नाङ्लो, कुचो लगायतका घरायसी सामाग्री सहित बिरोध प्रदर्शन भएको छ । ब्रम्हनगरको ढुङ्गे बजारबाट निस्किएको र्यालीले शिकारीबासपुल सम्म पुगी फेरी ढुङ्गे बजारमै पुगेर समापन भएको र्यालीका सहभागी राजेश लामाले बताउनु भयो । माघ १५ गाउँपालिकाको निर्णयको बिरोधमा आफुहरुले प्रदर्शन गरेको उनीहरुले बताएका छन् । यो समस्याको समाधान बार्ताबाट मात्रै सम्भव हुने भएकोले चाँडो बार्तामा बस्न गाउँपालिकालाई अनुरोध पनि गरेका छन् ।

मिलचोकमा बिरोध बिरुद्धमा प्रदर्शन

ठोरी वडा नम्बर ४ मिलचोकमा गाउँपालिकाको निर्णयको बिरोध बिरुद्धमा प्रदर्शन भएको छ । मिलचोकमा सेतो झण्डा गाडेर गाउँपालिकाको माघ १५ को निर्णयको स्वागत गरेका छन् भने सुवर्णपुरबासीले आयोजना गरेको कालो झण्डा सहितको मोटरसाईकल र्यालीलाई पनि अवरोध गरेका छन् । बार्ता द्धारा समस्याको समाधान हुने अवस्थामा बिरोध र्याली निकाल्दा भनै वाताबरण खलबलिने भन्दै आफुहरु बिरोधका बिरुद्धमा उत्रिएको स्थानीय निमा लामाले बताउनु भयो । सबैखाले प्रदर्शनहरुलाई बन्द गरेर बार्ता गर्नुपर्नेमा जोड दिने बेलामा बिरोध र्यालीले असर पुर्याएको एक महिला सहभागीले बताएकी छिन् ।

सुवर्णपुरमा दैनिक प्रदर्शन

ठोरी गाउँपालिकाको वडा नम्बर ५ मा मंगलबार पनि बिरोध प्रदर्शन भएको छ । माघ ५ को गाउँपालिकाको निर्णय आफुहरुलाई मान्य नहुने भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन । यहाँ माघ १६ गतेदेखि दैनिक बिरोध प्रदर्शनहरु भईरहेका छन् । माघ २३ गते एकचरणको बार्तामा पनि बसिसकेका सुवर्णपुरको आन्दोलनरत पक्षले गाउँपालिका समक्ष सोमबार आफ्ना केही मागहरु प्रस्तुत गरेको थियो । शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप भएको भन्दै उनीहरुले त्यसको बिरोध गरेपनि बार्ताको लागि भने आफुहरु तयार रहेको बताएका छन् । आज आयोजित मोटरसाइकल र्याली पनि मिलचोकमा अवरोध भएपछि सुवर्णपुर नै फर्किएको थियो । यद्दपी सुवर्णपुरका स्थानीयबासीले बार्ताबाट समस्याको समाधान हुन सक्ने बताईरहेका छन् ।

यसरी समग्र गाउँपालिका भरी कतै आन्दोलन कतै आन्दोलन बिरुद्ध प्रदर्शनहरु भईरहेपनि सवैपक्षहरुले बार्तालाई स्वीकारेका छन् । बन्दहडताल तथा अन्य प्रदर्शनहरु गरेर सर्वसाधारणलाई दुख थप्नु भन्दा बार्ताद्धारा नै समस्या समाधान गर्नुको बिकल्प नरहेको यहाँका बुद्धिजिवीहरुको भनाई रहेको छ ।

Back to top