प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत सिफारिस

2251

वीरगन्ज २२ माघ संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा चलेको फोरमको बैठकले राउतलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।दलको नेता नै मुख्यमन्त्रीका उम्मेदवार हुन् । ‘सर्वसम्मतबाट पार्टीले वरिष्ठ नेता राउतलाई संसदीय दलको नेता चयन गरेको हो । उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार हो,’ बैठकपछि प्रदेश सदस्य ज्ञानेन्द्रकुमार यादवले भने । शनिबार फोरमको विधायक दलको बैठकले पार्टीको प्रदेश अध्यक्ष रेणु यादव संयोजक रहने गरी निर्वाचन समिति गठन गरेको थियो । समितिमा राउतसहित विजय यादव, शैलेन्द्र साह, कौशलकुमार यादव, योगेन्द्र यादव, प्रल्हाद गिरी र सरोजकुमार सिंहले संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका थिए ।सहमति हुन नसकेपछि बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो । त्यसपछि यादवले सबैसँग छलफल गरेर राउतलाई नेता बनाउने निर्णय गरेका हुन् । उनको निर्णयपछि बाँकी ६ जनाले दाबी फिर्ता लिए ।१०७ सदस्यीय प्रदेश सभामा फोरमले २९ सिट जितेको छ । प्रदेश सभामा सबैभन्दा पहिले संसदीय दलको नेता छान्ने फोरम पहिलो दल भएको छ ।

यसरी छानिए लालबाबु राउत गद्दी


०  संघीय फोरम प्रदेश २ को सबैभन्दा ठूलो दल भएकाले उसकै नेता भावी मुख्यमन्त्री बन्ने लगभग निश्चित थियो । पार्टीभित्रै मुख्यमन्त्रीका आकांक्षी धेरै रहेकाले अध्यक्ष उपेन्द्र यादवलाई नेता छान्न ठूलै चुतौती थियो । उनले लोकतान्त्रिक प्रक्रियाबाटै दलको नेता छनोट गर्ने निर्णय गरेका हुन् ।०  प्रदेश २ की फोरम अध्यक्ष रेणु यादवको संयोजकत्वमा गठन गरिएको निर्वाचन कमिटीले दिउँसो ३ बजेपछि निर्वाचन प्रक्रिया थालेपछि सात नेताले उम्मेदवारी दिए । उम्मेदवारी फिर्ता लिने समयमा पार्टीका शीर्ष नेता र सम्पूर्ण प्रदेश सभा सदस्यहरूको बैठक बस्यो । बैठकमा प्रदेश सभा सदस्यहरूले चुनावी प्रक्रियाभन्दा सर्वसहमतिमै नेता छान्न जोड दिए ।०  सातै उम्मेदवारलाई सर्वसम्मत गर्न निर्वाचन समितिले समय दियो । तर, सहमति भएन । सांसदहरूले संसदीय दलका नेता छनोट गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मेवारी दिए । यादवले पार्टीका शीर्ष नेताहरू र केही सांसदसँग सल्लाह गरी लालबाबुको नाम छनोट गरे ।