उद्योगको नाममा पैसा निकाल्दै जग्गामा खन्याउँदै  राष्ट्र बैंकको नियम–सानालाई ऐन, ठूलालाई चैन 

800

वीरगन्ज, २० माघ, वीरगन्जका केही उद्योगपतिहरुले उद्योगको नाममा बैंकबाट निकालेको पैसा अवैधरुपमा जग्गाको कारोबारमा लगानी गरिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकका उच्च अधिकारी र उद्योगीको मिलेमतोमा यस्तो अवैध काम भइरहेको बुझिएको छ ।
वाणिज्य बैंकहरुले जथाभावी अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै राष्ट बैंकले जग्गाको करोबारमा लगानी रोक लगाए पनि केही नाम चलेका उद्योगपति र बैंकका अधिकृतहरुको साँठगाँठमा यस्तो काम भइरहेको स्रोतले बताएको छ । बैंकका अधिकारीहरुले यसरी लगानीको चाँजोपाँचो मिलाइदिएवापत त्यस्ता उद्योगीहरुबाट मोटो रकम कमिशनको रुपमा बुझ्ने गरेको स्रोतको दाबी छ ।
आफूलाई ठूला औद्योगिक समूह दाबी गर्ने उद्योगी र चल्तीका बैंकहरूबीचको यो अनधिकृत मिलेमतोका बारेमा राष्ट्र बैंकले अहिलेसम्म कुनै चासो नदिनुले उसको पनि मिलेमतोको आशंका गरिएको छ । उद्योगीहरुले बैंकबाट लिएको केही रकम देखाउनका लागि उद्योगमा लगाउने र अधिकांश जग्गामा लगानी गरी चाँडै लाभ कमाउने गरेको पाइएको छ । यसो गर्दा आम्दानी चाँडो हुने र कर छल्न पनि सहज हुने भएकाले उद्योगका नाममा अवैध धन्धा मौलाएको छ ।
बैंक र उद्योगीको यस्तो मिलेमतोबाट आम सिधासोझा लगानीकर्ता र सर्वसाधारण भने चेपुवामा पर्ने गरेका छन् । राष्ट्र बैंकले रोक लगाए पनि ठूलो रकम जग्गाको अनुत्पादक काममा गएपछि तरलता अभाव हुने गरेको छ । ठूलो रकम कर्जा लिएर जग्गामा लगाउनेहरुलाई न्यून ब्याज दरमा रकम उपलब्ध गराउने बैंकहरुले आम ऋणीलाई भने तरलता अभावको कारण देखाएर चर्को दरको ब्याज लिने र पटकपटक ब्याज दर बढाउने गरेका छन् ।