×

वीरगन्ज १६ माघ राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बीचमा बोलाचाल बन्द भएको छ । जवकि यो बेला दलहरु प्रदेश सरकार गठन गर्नेदेखि लिएर प्रतिनिधिसभा र केन्द्रीय सरकार गठनको विषयमा छलफलमा व्यस्त छन् । राष्ट्रियसभा उम्मेदवार चयनमा नेताहरुबीचमा भएको विवादका कारण बोलचाल नै बन्द भएको छ । नेताहरुवीचको विवादको असरा प्रदेशसभाका लागि संसदीय दलका नेता, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका विषयमा हुनुपर्ने छलफलमा परेको छ । यसका लागि बैठक बस्नु पर्ने भएपनि कुराकानी बन्द हुँदा बैठक प्रभावित भएको छ । दुई नम्बर प्रदेशमा दुईटा सीट पाएका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रियसभामा बीभा ठाकुर, महन्थ ठाकुरले वृषेशचन्द्र लाल र दीपेन्द्र झा तथा महेन्द्रराय यादवले रमेश यादव तथा शरतसिंह भण्डारीले शेखर सिंहको नाम प्रस्ताव गरेका थिए ।राजपाका एक नेता भन्छन्, ‘आ–आफ्नै मान्छे जानपर्ने सबैजनाको अडान थियो । राजेन्द्र महतोले बीभा ठाकुरको जसरी पनि जानुपर्छ भनेर अडान लिएर बसेका थिए । महेन्द्रराय यादव र शरतसिंह भण्डारीले पनि आ–आफ्नो अडान छाडेनन । राती अबेरसम्म छलफल गर्दा पनि कुरा नमिलेपछि रिसाएर राजेन्द्र महतोले महन्थ ठाकुरलाई जिम्मेवारी दिएर बैठकबाट घर फर्केका थिए । अनिल झा र शरतसिंह भण्डारी पनि आफ्नो घरतिर लागेका थिए ।’ ती नेता थप सुनाउँछन्, ‘त्यसदिन महन्थ ठाकुर आफ्नो निवास फर्केपछि राजकिशोर यादव र महेन्द्रराय यादव पनि उनको पछि पछि उतै गएका थिए । त्यहाँ गएर राती एक वजे मात्रै वृषेशचन्द्र लाल र रमेश यादवको नाम टुगों लागेको थियो ।’ जनकपुरको आन्दोलनमा सक्रिय भूमिकामा रहेकी बीभा ठाकुरको नाम नपरेपछि राजेन्द्र महतो निकै मर्मात भए । जनकपुरबाट प्रतिनिधिसभा चुनाव समेत जितेका राजेन्द्र महतोले बीभा ठाकुरको नाम राष्ट्रियसभामा पठाउन नसकेपछि उनलाई जनकपुर जान पनि गाह्रो भएको छ । बीभा ठाकुरको नाम प्रदेश सभाको समानुपातिकमा पनि पठाएको थियो । तर, क्रम सँख्या मिचेर पठाएको कारण अन्तिम समयमा आएर बीभा ठाकुरको नाम काटिएको थियो । बीभा ठाकुरको नाम काटिए पछि राजेन्द्र महतोमाथि निकै दवाव आयो । दवाव आउनुको एउटा अर्को कारण पनि थियो । महतोले बीभा ठाकुरको ठाउँमा अञ्जु कुमारीको नाम समानुपातिकमा सिफारिश गरेका थिए । बीभा ठाकुर भन्छिन्, ‘यदि मलाई गर्नु नै थियो भने शुरुमै प्राथमिकतामा राख्नु पथ्र्यो । आआफ्नो मान्छे पार्नका लागि नेताहरु शुरुमै प्राथमिकतामा राखे । अहिले आएर यो मिलेन त्यो मिलेन भनेर हुन्छ ।’

Back to top