×

वीरगन्ज १४ माघ दुई नम्बर प्रदेशमा मुख्यमन्त्री र संसदीय दलका नेताका विषयमा चर्चा अगाडि बढेको छ । मुख्यमन्त्रीका रुपमा आधा दर्जन नेताहरुले दाबी पेस गरेका छन् भने सबै पार्टीभित्र संसदीय दलका नेताका लागि पहल सुरु भएको छ ।

दुई नम्बर प्रदेश सभामा सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल हो। यसैले फोरमका संसदीय दलका नेता दुई नम्बर प्रदेशका मुख्यमन्त्री बन्ने लगभग निश्चित छ।

दुई नम्बर प्रदेशमा मधेशी गठबन्धन (फोरम र राजपा)को स्पष्ट बहुमत छ भने फोरम र राजपा मिलेर सरकार बनाउने सहमति पनि भइसकेको छ। जसमा मुख्यमन्त्री फोरमले पाउनेछ।

माघ २१ गते दुई नम्बर प्रदेश सभाको प्रथम अधिवेशन बोलाइएको छ। त्यसअघि सम्पूर्ण दलले संघीय दलका नेता, उपनेता तथा सचेतक चयन गर्ने तयारी गरेका छन्।

फोरम नेपालबाट संसदीय दलका नेता एवं मुख्यमन्त्रीका लागि तीन जना नेता अगाडि देखिएका छन्। सप्तरीबाट निर्वाचित शैलेन्द्र साह, सिरहाबाट निर्वाचित विजय यादव र पर्साबाट निर्वाचित लालबाबु राउत फोरमको संसदीय दलका नेता एवं मुख्यमन्त्रीको दौडमा छन्।

साह फोरमका संस्थापक नेता हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका साह जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका स्ववियू सचिव थिए। फोरमको सप्तरी जिल्लाका संस्थापक अध्यक्षसमेत हुन् साह। लामो समयदेखि राजनीतिक यात्रामा रहेका साह हालसम्म कुनै सरकारी पद पाउन सकेका छैनन्।

तत्कालिन मधेशी जनअधिकार फोरम पटक–पटक विभाजन हुँदा पनि साहले उपेन्द्र यादव नेतृत्वको फोरममै रहे। उनी निरन्तर फोरमका सक्रिय रहँदा उपेन्द्र यादवका विश्वास पत्र पनि छन्। र, अहिले यादवकै संसदीय क्षेत्रबाट उनी प्रदेश सभामा विजयी भएका छन्। उपेन्द्र यादवलाई चुनाव जिताउन साहको पनि महत्वपूर्ण भूमिका रहेको छ। जसकारण साहलाई संसदीय दलका नेता एवं मुख्यमन्त्रीको सबभन्दा बलिया उम्मेदवार मानिएको छ।

यता सिरहाबाट चुनाव जितेका विजय यादव पार्टीका केन्द्रीय कोषाध्यक्ष हुन्। पहिलो संविधान सभामा चुनाव जितेर छोटो समयका लागि उनी मन्त्री पनि भइसकेका छन्। जातीय समीकरणका हिसाबले पार्टीभित्र उनी बलियो मानिन्छन्।

यता अर्का नेता लालबाबु राउत पार्टीका उपाध्यक्ष हुन्। केन्द्रको अधिकांश बैठक तथा कार्यदलमा उनी सक्रिय रहने गरेका छन्। उनी पनि मुख्यमन्त्री एवं संसदीय दलका नेताका लागि लविङ्ग गरिरहेका छन्।

फोरमको संसदीय दलको नेता एवं मुख्यमन्त्रीको उम्मेदबार चयनका लागि माघ १९ गते बैठक बोलाइएको छ। १९ गतेको बैठकबाट संसदीय दलका नेता चयन हुने फोरमले जनाएको छ।

त्यस्तै, दुई नम्बर प्रदेशको दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलका नेताका लागि र उपमुख्य मन्त्रीका लागि दौडधुप सुरु भएको छ।

राजपामा वरिष्ठताका आधारमा सप्तरीका नवलकिशोर साह संसदीय दलका नेता बन्ने दौडमा छन्। पुराना मधेशवादी नेताका रुपमा साह रहेका छन्। उनी राजेन्द्र महतो पक्षधर मानिन्छन्।

त्यस्तै, राजपाका वरिष्ठ नेता रामनरेश राय यादव पनि संसदीय दलको नेताको दौडमा रहेका छन्। समानुपातिकबाट प्रदेश सभा सदस्य भएका यादव महेन्द्र राय यादव निकट हुन्। हुन त उनी पनि पहिलेको सद्भावना नै हुन्।

राजपा मै जितेन्द्र सोनल पनि संसदीय दलका नेताका लागि दौडमा छन्। बाराबाट चुनाव जितेका सोनल पहिलो संविधान सभाको निर्वाचन पनि जितेका थिए। संसदीय समिति चलाएको अनुभव पनि सोनलसँग रहेको छ।

माघ १६ गतेको आसपासमा बस्ने राजपाको बैठकले दुई नम्बर प्रदेशको संसदीय दलको नेता चयन गर्ने राजपाका विधायक सुरेश मण्डलले जानकारी दिए।

यसैगरी नेपाली कांग्रेसमा संसदीय दलका लागि चर्चा सुरु भइसकेको छैन। कांग्रेसबाट रामसरोज यादवको नाममा चर्चामा रहेको छ। यादवले १६ गतेको आसपासमा बस्ने बैठकले संसदीय दलका नेता चयन गर्ने जानकारी दिए।

यसैगरी एमालेको संसदीय दलका नेताका रुपमा शत्रुघन महतोको चर्चा रहेको छ। अन्य नेताहरु चर्चामा आएका छैनन्। एमालेले पनि २१ गते अघि नै बैठक गरेर टुंगो लगाउने जनाएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले भरत साहलाई दुई नम्बर प्रदेशको मुख्यमन्त्रीकै रुपमा निर्वाचनमा प्रस्तुत गरेको थियो। महोत्तरीबाट चुनाव जितेका साह संसदीय दलका नेता बन्ने प्रायः निश्चित छ।

Back to top