प्रदेश नं २ : सरकारको गठजोड गर्दै राजपा-फोरम

1567

वीरगन्ज १३ माघ तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् ।मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउनुहुन्छ । दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् ।प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । “प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ,”– उहाँले भन्नुभयो ।