×

नेपालमा पछिल्लो समय फेसबुकमार्फत हुने साइबर अपराधका घट्ना बढ्दै गएको तथ्याङ बाहिर आउन थालेको छ। सञ्‍चारमा आएको विकासले विश्व नै एकगाउँ बनेको बेला यसको सही सदुपयोग गर्न नसक्दा आपराधिक घटना निम्त्याउँदै गएको अपराध महाशाखा टेकुका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका गैरकानुनी क्रियाकलाप साइबर अपराध हुन्। यी नै माध्यमअन्तर्गत पर्ने फेसबुक प्रयोग गरेर आपराधिक क्रियाकलाप बढेको लोहनी बताउँछन्। ‘फेसबुक प्रयोग गर्ने साथी बन्ने, कतिपय चिनेजानेकै साथी बन्छन्, कतिपय फेसबुकमा सुन्दर युवायुवतीका फोटो देख्दैमा साथी बन्ने गर्छन्। साथी बनेका केही समयमै फेसबुकमार्फत कुराकानी गर्ने नम्बर दिने लिने भेट्नेसम्मका गतिविधि सबै फेसबुकमार्फत नै हुने गर्छन्', उनले भने। 'छोटो समयमै गलफ्रेन्ड ब्वाइफ्रेन्ड बन्ने र फेसबुकका पासवर्ड साटासाट गर्ने। अनि सम्बन्ध बिग्रन थाल्यो की पहिले खिचेका फोटा उसकै फेसबुक अकाउन्टबाट पोष्ट गर्दिने, पिडितकै फोटो राखेर अर्को फेसबुक अकाउन्ट खोलेर पोस्ट गर्ने गरेका घटनाका उजुरी दैनिक १० भन्दामाथि आउने गरेका छन्। आर्थिक वर्ष ०७१।७२ मा विभिन्न साइबर अपराधअन्तर्गत ३०५ दर्ता भएको थियो भने अर्थिक वर्ष ०७२।७३ मा ८३० मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष ०७३।७४ मा ११९७ दर्ता भएका छ भने चालू आर्थिक वर्ष ०७४/७५ को पाँच महिनामा ६३२ पुगेको छ। यसमध्ये सबैभन्दा बढी सोसल नेटवर्कअन्तर्गत फेसबुकबाट आउने गरेको अपराध महाशाखाले जनाएको छ। फेसबुकमार्फत हुने अपराधका घट्ना प्रहरीले कसरी गर्छ समाधान? फेसबुकको कर्पोरेट अफिस सिंगापुरमा छ। नेपालमा जति पनि फेसबुकमार्फत अपराधका घटना हुन्छन् यसको यकिन विवरण सबै सिंगापुरमै हुन्छ। अपराध महाशाखाले पनि नेपालमा फेसबुकमार्फत अपराध गर्ने मानिसको विवरण सिंगापुर सरकारबाटै मगाउने गरेको छ। ‘हामीले जति पनि फेसबुकपीडित मानिसले निवेदन दिन्छन् उनीहरूको विवरण सिंगापुर सरकारलाई पत्रमार्फत अनुरोध गर्छौं र उनीहरूले दिएको विवरणअनुसार फेसबुकमार्फत अपराध गर्ने मानिसलाई कारबाहीको दायरामा ल्याउने गरेका छौं', प्रहरी उपरीक्षक लोहनीले भने। नेपालमै फेसबुकको कर्पोरेटअफिस नभएकाले फेसबुकमार्फत हुने अपाराध समाधान गर्न जटिल भएको उनले सुनाए। साइबर अपराधसम्बन्धी के छ कानुनी व्यवस्था? नेपालमा प्रहरीले साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गर्दै आएको छ। उक्त ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई ३ लाख रुपैयाँ सम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ। कति छन् नेपालमा इन्टरनेट प्रयोगकर्ता? नेपालमा सबैभन्दा बढी प्रयोग भएको सामाजिक सञ्‍जाल फेसबुक हो। त्यसैले पनि फेसबुकमार्फत हुने साइबर अपराधका घटना बढी हुने गरेको अपराध महासाशा टेकुका प्रमुख एसएसपी दिवेश लोहनीले बताउँछन्। नेपाल दूरसञ्‍चार प्राधिकरणको पछिल्लो भदौसम्मको तथ्‍यांकअनुसार नेपालको कुल जनसंख्याको ६२.९४ प्रतिशत मानिसले इन्टरनेट सब्सक्राइब्ड गरेको र यसमा पनि एउटै सब्सक्राइब्डबाट धेरै मानिसले इन्टरनेट चलाउने गरेको नेपाल दूरसञ्‍चार प्राधिकरणका प्रवक्ता मीनबहादुर अर्‍यालले बताए।

Back to top