×

वीरगन्ज ७ माघ वीरगन्जको छपकैयास्थित नेपाल भारतको सीमामा देखिएको विवादबारे काठमाडौंबाट आएको उच्चस्तरीय प्राविधिक टोलीले शनिबारदेखि स्थलगत नीरिक्षण सुरु गरेको छ । सीमामा हराएका र जीर्ण भएका पिलर मर्मत र निर्माणका क्रममा लालपुर्जा भएकै नम्बरी जग्गा समेत भारततर्फ पर्न गएको भन्दै जग्गा धनीले विरोध गरेपछि नापी विभाग काठमाण्डौको उच्चस्तरीय प्राविधिक टोली वीरगन्ज आएको हो ।काठमाण्डौंबाट आएको नापी विभागका निर्देशकद्वय अनिल मरासीनी र दामोदर ढकाल नेतृत्वको उच्च स्तरीय टोलीले विवादित छपकैयाको सीमामा शनिबार बिहान पुगेर त्यहाँ गाडिएका नयाँ पिलरहरुको स्थलगत अनुगमन गरेको छ ।नयाँ पिलर गाडिएपछि भारततर्फ पर्न गएको नेपाली जग्गामा शनिबारदेखि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीका साथ निर्देशकद्वय मरासीनी र ढकाल नेतृत्वको टोलीले विवादीत सीमा क्षेत्रमा स्थलगत निरिक्षण शुरु गरेको प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले बताए ।काठमाण्डौंबाट आएको टोलीले विवाद देखिएका सीमा क्षेत्र, त्यहाँ गाडिएका नयाँ पिलर, जीर्ण पिलरहरुको सोमबार सम्म स्थलगत नीरिक्षण र नापजाँच गर्ने ज्ञवालीले जानकारी दिए ।तत्कालका लागि पिलर मर्मत र पुनः निर्माणको काम रोक्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेपछि नापी विभागको टोलीले पुस ३० गतेदेखि पिलर गाड्ने काम रोकेको छ । विवादीत सीमा क्षेत्रको बारेमा टुङगो नलागेसम्म पिलर मर्मत र पुर्न निर्माणको काम अगाडि नबढाउन स्थानीय प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।नापी अधिकृत ज्ञवालीका अनुसार सन् १८१६ देखि १८७५ सम्म दुवै देश बीच भएका चारवटा सन्धि र सम्झौता अनुसार स्ट्रिप म्यापका आधारमा चितवन, पर्सा र बारामा क्षतिग्रस्त पिलरको मर्मत र हराएका स्थानमा नयाँ कुल एक हजार आठ सय ७० मुख्य र सहायक पिलर राख्ने काम भइरहेको छ । पर्सामा मात्रै तीन सय ४० वटा पिलरको मर्मत र तीन सय ६९ वटा नयाँ पिलर निर्माण भइरहेको उनले जानकारी दिए ।

Back to top