×

वीरगञ्ज ४ माघ सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदेश राजधानी आआफ्नो ठाउँमा हुनुपर्ने माग गर्दै आएका प्रदर्शनकारीले विहीबार बिहानैदेखि प्रदर्शन तीव्र तुल्याएका छन् । सरकारले बुधबार सात प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकेको थियो । २ नम्बर प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ । सङ्घर्ष समिति बनाएर विगत २ हप्तादेखि वीरगञ्जको घण्टाघरमा अनसन बस्दै आएका प्रदर्शनकारीले सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेपछि बिहीबार पर्सा जिल्ला बन्द आह्वान गरेका थिए । प्रदर्शनकारीले बिहानैदेखि वीरगञ्जको घण्टाघरमा टायर बालेर सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्णय तत्काल फिर्ता लिएर वीरगञ्जलाई राजधानी घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रदर्शनकारीले सवारीका सधानमा तोडफोड गरेर क्षति पु¥याएका छन् । घण्टाघरमा बा १२ च ७३६५ नम्बरको कारमा तोडफोड गरिएको छ । वीरगञ्जको मुख्य बजार बन्द रहेको छ । लामो तथा छोटो दुरीमा सवारीका साधन चलेका छैनन् । बिहीबार सार्वजनिक विदा भए पनि शिक्षण संस्था बन्द नहुने बताइएकोमा बन्द आह्वानका कारण शिक्षण संस्थासमेत खुलेनन् । यसैबीच पर्साका मधेसवादी राजनीतिक दलले वीरगञ्जलाई प्रदेशको अस्थायी मुकामबाट बञ्चित गरिएको भन्दै बुधबार साँझ वीरगञ्जमा प्रधानमन्त्रीको पुतला जलाएका थिए । मधेसवादीले पुतला जलाएलगत्तै नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका दलको सहभागिता रहेको सङ्घर्ष समितिले बन्द आह्वान गरेको थियो ।

Back to top