×

वीरगंज, माघ २ - वीरगंज महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ । सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालन गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने अभियान महानगरपालिकाले सुरु गरेको हो ।

महानगरपालिकाले माघ १ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । वीरगंज महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ ।

विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटना बढेको थियो । यसरी नियन्त्रणमा लिएका छाडा गाईलाई रु ५०००, बाछालाई रु ३००० जरिवाना लिएर छाड्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

हिजो महानगरले ११ वटा गाई, बाछा, साँडे नियन्त्रणमा लिएर पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको नजिकको स्थानमा छाडेको छ भने आज पुन: छाडा छोडिएका १४ वटा गाई, बाछा, साँडे नियन्त्रणमा लिएको महानगरपालिकाका कार्यालयले जनाएको छ । महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी आएको छ ।

Back to top